धरान: चार दिनअघि प्रथम धरान अन्तरमावि छात्रा फुटबल प्रतियोगितामा च्याम्पियन बनेका खेलाडी विद्यार्थीहरुलाई भालढुंगा मावि धरान २० ले सम्मान गरेको छ ।

विद्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरि विजेता खेलाडीहरुलाई सम्मान गरेको हो । गएको बिहिबार धरान १६ स्थित रंगशालामा सम्पन्न फाइनल खेलमा होलील्याण्ड इन्टरनेशनल बोर्डिङ स्कुललाई ८–० फराकिलो गोलअन्तरले हराउदै भालढुंगा च्याम्पियन भएको थियो । साविक विष्णुपादुका गाविस धरानमा गाभिएर उपमहानगरपालिका भएपनि अवस्था फेरिएको छैन । पहाडी क्षेत्र भएकोले वडा नं २० विकट छ । तर, यही विकट क्षेत्रको भालढुंगा माविले पहिलो पटक आयोजित अन्तरमावि छात्रा फुटबल प्रतियोगितामा सहरको निजी र अन्य सामुदायिक विद्यालयहरुलाई हराउदै च्याम्पियन बनेको थियो ।

bhal dhunga2

छात्रा फुटबलमा च्याम्पियन बनेको यो विद्यालयले नगद २० हजार, ट्रफी हात पारेको थियो भने फाइनल खेलको म्यान अफ दि म्याच विजेता राई, सर्वोत्कृष्ट खेलाडी सञ्जिता राई, हाई स्कोरर सुमित्रा राई, वेष्ट डिफेन्स आयुष राई घोषित भएका थिए । खेल मैदानको समेत अभाव भएको पहाडी क्षेत्रमा हुर्किएका छात्राहरुको फुटबलप्रतिको लगावकै कारण विद्यालय च्याम्पियन भएको हो ।

सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम सुच्चा राई, प्रमुख अतिथि एवं वडा २० का अध्यक्ष पदम लिम्बु, पुर्व गाविस अध्यक्ष तथा वडा अध्यक्ष मणिराम राई, विद्यालयका प्रअ सुरेन्द्र अधिकारीलगायतले च्याम्पियन विद्यार्थीहरुलाई खादा र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए । यस्तै, खेलाडी विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार पनि प्रदान गरिएको थियो । 

bhal dhunga1

वडाअध्यक्ष पदम लिम्बुले विकट क्षेत्रमा हुकिएर पनि छात्राहरुले च्याम्पियन बनेको भन्दै प्रशंसा गरे । साथै उनले विद्यालयमा प्रत्येक शुक्रबार प्राविधिक ज्ञान तथा सिप सिकाउन वडा कार्यालयले सहयोग गर्ने पनि घोषणा गरेका थिए । पुर्वगाविस अध्यक्ष मणिराम राईले सहरका सुविधासम्पन्न विद्यालयहरुलाई जितेर गाउँमा पनि क्षमतावान खेलाडीहरु छन् भन्ने प्रमाणित गरेको बताए । 

च्याम्पियन विद्यार्थीहरुलाई सम्मानसँगै विद्यार्थीहरुलाई छात्रवृत्ति तथा पुरस्कार पनि वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम राईले जानकारी दिए । विद्यालयमा हाल ३२० जना विद्यार्थीहरु अध्ययनरत छन् । 

bhal dhunga3

bhal dhunga

भिडियो: