धरान: नेपाल रन युके र धरान रन समुहको संयुक्त आयोजनामा आगामी असोज २७ गते इन्टरनेशनल ट्रेल रेस नेपाल २१ किमि दौड आयोजना हुने भएको छ ।

धरान रन समुहले बुधबार पत्रकार सम्मेलन गर्दे दौडबारे प्रारम्भिक जानकारी दिएको हो । विश्वलाई धरान खेलकुदको सहरको रुपमा चिनाउने उद्देश्यले ट्रेल रेस आयोजना गरिएको धरान रन समुहका अध्यक्ष रमु राईले जानकारी दिए । सहरी सडकबाट टाढा रहेर प्रकृतिसँग रमाउदै रमणीय डाँडाखापा, खोलाखोल्सी, भञ्ज्याङ तथा गोरेटोहरुमा दौडिनुलाई ट्रेल रेस भनिन्छ । यो प्रतियोगिताले धरान आसपासको ग्रामिण क्षेत्रहरुलाई पर्यटकीयरुपमा उजागर गर्ने पनि अध्यक्ष राईले बताए ।

यो रेस धरान १३ र २० को सिमाना रहेको ओशो पार्कबाट शुरु हुनेछ । रेस चिण्डे डाँडा, विष्णुपादुका मन्दिर जाने ओरालो बाटो, भञ्ज्याङ, ब्रिटिश गोर्खा मेमोरियल पार्कबाट पुनः भञ्ज्याङ हुदै चिण्डे डाँडा एक फन्को मारेर पुनः ओशो पार्कमा पुगेर दौड समापन हुनेछ । यो दौडको दुरी २१ किलोमिटर रहेको पनि अध्यक्ष राईले बताए । 

दौडमा देश विदेशका व्यवसायिक ट्रेल रनरहरु सहभागी हुने भएकोले १५० जना मात्र कोटा राखिएको पनि आयोजकले जनाएको छ । पहिलो सँस्करण भएकोले धावकधाविकाको उमेर १७ बर्षदेखि माथि हुनुपर्ने र भेट्रान समुहको ४० बर्ष माथि हुनु पर्ने आयोजकको भनाई छ । प्रतियोगिताको दर्ता फारम पनि आजैबाट खुला गरिएको जनाएको छ ।

दौडमा महिला तथा पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुने धावकधाविकाहरुलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार दिइनेछ भने भेट्रान समुहतर्फ पनि महिला, पुरुषको पहिलो हुने विजेतालाई ट्रफीसहित आकर्षक पुरस्कार दिइनेछ आयोकजले जनाएको छ । दौडको दिन रेस हुने ट्रयाकको ठाउँ ठाउँमा स्वायमसेवक र मेडिकल टिम पनि राखिने सल्लाहकार गोपाल राईले जानकारी दिए । 

  भिडियो: