धरान: दोस्रो यु १८ धरान मेघा रेवाहाङ मेमोरियल अन्तरविद्यालय बास्केटवल प्रतियोगिताको तयारी पुरा भएको छ ।

आयोजक धरान १२ स्थित धरान मेघा हिमालयन कलेजले शुक्रबार पत्रकार सम्मेलन गर्दै तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिता भदौ २५ गते सोमबार बिहान उद्घाटन हुनेछ भने भदौ ३० गते फाइनल खेलसँगै सम्पन्न हुनेछ । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले गर्ने तय भएको कलेजका अध्यक्ष कैलाश लिम्बुले बताए ।

प्रतियोगितामा सुनसरी, मोरङ, झापा र धनकुटाका विभिन्न १६ वटा स्कुल तथा कलेजका टिमले सहभागिता जनाउने पनि आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान मेघा कलेज बी र होलिल्याण्ड स्कुलबीच हुनेछ । प्रतियोगिताको सम्पुर्ण खेल मेघा कलेजको बास्केटवल कोर्टमा हुनेछ भने बर्षा भएमा धरान १६ रंगशालास्थित सेमीकभर्ड हलमा हुने बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए । 

प्रतियोगितामा कक्षा १२ सम्मका र १८ बर्ष पुगेको तर १९ बर्ष प्रवेश गरिनसकेका विद्यार्थीहरुले मात्र सहभागी हुन पाउनेछन् । प्रत्येक टिममा कक्षा १० सम्मका ६ जना विद्यार्थी खेलाडी अनिवार्य हुनुपर्नेछ भने कक्षा ११ र १२ का ६ जना खेलाडी मात्र सहभागी हुन पाउनेछन् । तर, कक्षा १० सम्मका खेलाडीहरु भने टिममा १२ जनै समावेश गर्न पनि पाइने आयोजकको भनाई छ । 

प्रतियोगिताको विजेता टिमले नगद २० हजार, उपविजेताले नगद १० हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र पनि पाउनेछ । मोस्ट भ्यालुएबल खेलाडीले नगद २५ हजार, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउनेछ । उत्कृष्ट स्कोरर खेलाडीले नगद २ हजार, ट्रफी र प्रमाण पत्र पाउनेछ । यस्तै, मुख्य प्रतियोगिताको फाइनल अघि थ्री पोइन्ट कम्पिटिशन पनि हुनेछ । यसको विजेता खेलाडीले नगद २ हजार, ट्रफी र प्रमाणपत्र हात पार्नेछ । 

यो प्रतियोगिता धरान १८ निवासी १६ बर्षीय रेवाहाङ राईको स्मृतिमा गत बर्षदेखि शुरुवात गरिएको हो । बास्केटलका उदयीमान खेलाडी रेवाहाङको २०७७ माघ २० गते असामयिक निधन भएको थियो । उनको सम्मानमा अभिभावक, धरान मेघा हिमालयन कलेज र धरान बास्केटवल संघको सहकार्यमा अक्षय कोष स्थापना गरेर प्रतियोगिता शुरुवात गरिएको हो । अभिभावक रेवतीरमण राई र सुजता राईले २ लाख रुपैयाको अक्षयकोष स्थापना गरिदिएका छन् ।