धरान: दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगिताको उद्घाटन खेलमा धरान आर्दश कलेज विजयी भएको छ । 

धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा भएको उद्घाटन खेलमा आर्दशले कार्मेल स्कुललाई ३४–१९ अंकले पराजित गर्यो । उद्घाटन खेलको प्रत्येक क्वाटरमा धरान आर्दश र कार्मेलले ६–४, ५–४, ८–३ र १५–८ अंक जोडेका थिए । यस्तै, आजै भएको दोस्रो खेलमा बाल संसार सेकेन्डरि धनकुटाले युनाइटेड स्कुललाई ४९–६ स्कोरले हरायो । दोस्रो खेलमा बाल संसार धनकुटा र युनाइटेड गोर्खाले ११–२, १५–०, १२–० र १०–४ अंक जोडेको थियो । 

तेस्रो खेलमा होलिल्याण्ड स्कुलले धरान मेघा वि टिमलाई ३७–१४ अंकले पराजित गरेको छ। होलिल्याण्ड स्कुल र धरान मेघा स्कुलले प्रत्येक क्वार्टरमा १०–४, ७–६, १४–२ र ६–२ अंक जोडेको थियो । उद्धघाटन खेलमा धरान आर्दशका सरिन थापा मगरले व्यक्तिगत १४, दोस्रो खेलमा वाल संसारका प्रेदित मग्रातीले १२ र होलिल्याण्ड स्कुललका करुण तामाङले १२ स्कोर गरेका थिए । 

प्रतियोगिता उदयमान बास्केटवल खेलाडी स्वर्गीय रेवाहाङ राईको स्मृतिमा उनको अभिभावक, धरान मेघा कलेज र धरान बास्केटवल संघको सहकार्यमा आयोजना भएको हो । रेवाहाङको २०७७ माघ २० गते १६ वर्षको उमेरमा निधन भएको थियो । उनको संझनामा उनको परिवारले दुई लाख रुपैयाको अक्षय कोषको स्थापना गरि गत साल देखि धरान मेघा रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिता सुरु गरिएको थियो । कार्यक्रमको उद्धघाटन अघि एक मिनट मौनधारण गरि अतिथि महानुभावहरुले रेवाहाङको तस्विरमा माल्यापर्ण गरि श्रद्धान्जली  दिएका थिए ।

भोली मंगलवारको खेल हिमशिखर तरहरा र प्रभात स्कुल, आयोजक धरान मेघा र डिपो स्कुल, विष्णु मेमोरियल र धरान उच्च वि टिम, सियोन स्कुल र आर्दश कलेज विर्तामोड, युएन नवोदय र धरान उच्च ए टिम विच प्रतिस्पर्धा हुनेछ ।