धरान: सुनसरी जिल्ला स्तरीय प्याब्सन एन्फा प्रेसिडेण्ट कप अन्तर विद्यालय फुटबल प्रतियोगिता शुक्रबारदेखी सुरु हुने भएको छ । 

एन्फा सुनसरीको आयोजना तथा प्याब्सन सुनसरीको संयोजनमा प्रतियोगिता शुक्रबारदेखि असोज ९ गतेसम्म आयोजना हुने भएको हो । एन्फा सुनसरी र प्याब्सनले बिहिबार संयुक्त पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा जिल्लाभरीका ३२ वटा प्याब्सनसग आवद्ध निजी विद्यालयहरु सहभागी रहने जानकारी दिएको छ । एन्फा सुनसरी उपाध्यक्ष एबम कार्यक्रम सयोजक भेषराज कार्कीले शुक्रबारदेखि शुरु हुने पहिलो चरणको खेलहरु इटहरी र बराहक्षेत्रमा गरि दुई क्षेत्रमा हुनेछ । 

प्रतियोगिताको पहिलो चरण नकआउट आधारमा हुनेछ । पहिलो चरणमा इटहरीबाट २ टिम र बराहक्षेत्रबाट २ टिम गरि ४ वटा टिम दोस्रो तथा फाइनल चरणको लागि छनौट हुनेछन् । फाइनल चरणको खेल लिगको आधारमा धरानमा सञ्चालन हुने पनि संयोजक कार्कीले जानकारी दिए । 

प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, प्रतियोगिताको दोस्रो, तेस्रो र चौथोले क्रमशः नगद १५ हजार, १० हजार र ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक एन्फा सुनसरीले जनाएको छ । यस्तै, विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई जनही नगद २ हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै, सर्वाधिक गोलकर्तालाई नगद ३ हजार रुपैयाँ र उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने एन्फा सुनसरीका अध्यक्ष नविन राईले जानकारी दिए । 

anfa pabsion2

विद्यालय स्तरबाटै खेलाडीको उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको एन्फा सुनसरी अध्यक्ष राईले बताए । ‘खेलाडी उत्पादन गर्ने भनेकै ग्रासरुटबाट हो, त्यो भनेको विद्यालयमा हुन्छ, खेलाडीलाई धेरै भन्दा धेरै खेल्ने अवसर दिनुपर्छ अनी मात्र उनीहरुको स्किल बढ्छ उनले भने ‘यो प्रतियोगितामा १५–१६ वर्षका उमेर समुहका विद्यार्थीहरुको सहभागीता हुने भएकोले खेलाडी उत्पादनमा ठुलो सहयोग पुग्छ ।

अन्य खेलहरुको तुलनामा सबैले रुचाउने खेल फुटबललाई प्याब्सनले आफै पनि प्रतियोगिता आयोजना गर्दै आएको प्याब्सन सुनसरीका अध्यक्ष अनुप योञ्जनले बताए । प्याब्सनले एन्फासँग सहकार्य गरेर प्रतियोगिता गर्न पाउँदा फुटबल खेलको विकासमा केही योगदान हुनेमा विश्वास व्यक्त गरे ।

anfa president1

विद्यालयस्तरमा हुने यस्ता खालका प्रतियोगिताले नेपाली फुटबलमा राम्रो भुमिका खेल्ने एन्फा मानार्थ बरिष्ठ उपाध्यक्ष एबम एन्फा कोशी प्रदेश अध्यक्ष किशोर राईले बताए । यस्ता खालका प्रतियोगितालाई सधै निरन्तरता दिनुपर्नेमा जोड दिए । ‘विद्यालय स्तरका प्रतियोगितामा हामीले जोड दिनुपर्छ उनले भने ‘ग्रासरुटलाई बढी जोड दिनसक्यो भने खेलाडी उत्पादनमा ठुलो सहयोग पुग्छ, यसले देशभर फुटबलको माहोल बनाउँछ ।