धरान: बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दे काठमाण्डौं पुगेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक चिकित्सकहरुले आज मंगलबार स्वास्थ्य मन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

शिक्षक कल्याण समाजको नेतृत्वमा प्रतिष्ठानका ५० भन्दा बढी शिक्षक चिकित्सकहरु सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री र कुलपतिसमेत रहेका प्रधानमन्त्री भेट्न हिजो राजधानी प्रस्थान गरेका थिए । उनीहरुले आज मंगलबार सहकुलपति एवं स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् । भेटमा मन्त्री बस्नेतसँगै स्वास्थ्य सचिवद्धय रोशन पोखरेल र देवकुमारी गुरागाई पनि उपस्थित थिए । 

प्रतिष्ठानका चिकित्सकहरुले दरबन्दी खाली भएर पनि विगत ६ बर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध हुँदा निराशा छाएको र ५० भन्दा बढी दक्ष चिकित्सकहरुले प्रतिष्ठान छोडिसकेको पनि मन्त्री बस्नेतलाई जानकारी गराएका थिए । मन्त्री बस्नेतले वीपीका चिकित्सकहरुको मागलाई आफुले गम्भीरतापुर्वक लिएको प्रतिक्रिया दिदै पदाधिकारीहरुलाई एक साथ बोलाएर चाडो निकास गर्न निर्देशन दिइसकेको बताए ।

उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई बोलाएर पनि कुरा गरेको जानकारी दिदै भने,‘उहाँ (पदाधिकारी)हरुलाई पनि बोलाएर निकास निकाल्नुस् भनिरहेको छुँ चाडो गछौं भनिरहेको छुँ । म काम गर्ने मान्छे हो, काम गर्नेलाई गर्न दिनुपर्छ ।’

भिडियो: