धरान: तेस्रो अशोक वास्फोर स्मृति बास्केटबल प्रतियोगिता पुष ७ गतेदेखि १४ गते सम्म हुने भएको छ ।
आयोजक डाइनामिक युथ क्लब धरान१८ ले विहिबार बुद्ध चोकस्थित कोइच क्याफेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता धरान १६ रंगशालास्थित इन्डोर बास्केटवल कोर्टमा हुने क्लबले जनाएको छ । प्रतियोगिता लिगकम नकाउटको आधारमा हुने पनि क्लबका अध्यक्ष रवि बास्फोरले जानकारी दिए ।
क्लब धरान १८ स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान हाताभित्र बसोबास गर्ने युवाहरुले २०७१ सालमा स्थापना गरेको सस्था हो । प्रतियोगिताको विजेताले नगद ६० हजार र उपविजेताले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार दिइने अध्यक्ष बास्फोरले जानकारी दिए ।
प्रतियोगितामा सुनसरी, मोरङ, झापा, धनकुटा, काठमाण्डौबाट १० क्लबले सहभागीता जनाउने बास्केटबलका प्रदेश प्रशिक्षक बिकास चाम्लिङ राईले जानकारी दिए । प्रतियोगितामा मिराकल, इमोर्टल, विराटनगर, चक्रपथ काठमाण्डौ, तरहरा, यलम्बर क्लब धरान, ब्रदर्श क्लब झापा, होइराइन र धनकुटा सहभागी रहने पनि उनले जानकारी दिएका छन् ।
पहिलो चरणको खेलहरु लिगको आधारमा हुनेछ । सेमीफाइनल पुगेको टोलीबिच होम अवेको आधारमा हुनेछ । सुनसरी बाहिरको टिमले भने सेमीफाइनलमा धरानकै कुनै एक कोर्ट छान्नु पर्ने प्रशिक्षक चाम्लिङले बताए । स्वर्गीय अशोक बास्फोर फुटबल खेलाडी थिए । उनी आयोजक क्लबका अध्यक्ष रविका बुबा हुन् । रवि पनि बास्केटबलका पुर्व राष्ट्रिय खेलाडी हुन् । आफ्नो बुबाको स्मृतिमा परिवारको खर्चमा प्रतियोगिता आयोजना हुँदै आएको छ ।