धरान: आन्दोलनरत शिक्षक, कर्मचारीहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्की समस्या समाधान गर्न नभै कमिशनको खेलमा लागेको आरोप लगाएका छन् । 

प्रतिष्ठानका शिक्षक, कर्मचारीहरु का.मु.उपकुलपति कार्कीले रोकेको आफ्नो बढुवा प्रक्रियालाई सुचारु गर्नुपर्ने माग राख्दै आन्दोलनरत छन् । उनीहरुको भद्र अवज्ञा आन्दोलनले ओपिडी सेवा अवरुद्ध छ भने विद्यार्थीहरुको पठनपाठन पनि रोकिएको छ । यस्तो संवेदनशील अवस्था हुँदा पनि स्वास्थ्य मन्त्री बस्नेत र का.मु.उपकुलपति कार्कीको ध्यान समाधान गर्नतर्फ नभै सिनेट बैठक बोलाएर ठेकेदारको विल भुक्तानीको निर्णय गराएर कमिशन लिन केन्द्रीत भएको आरोप आन्दोलनरत पक्षको छ । 

प्रतिष्ठानको निर्माणाधिन एमसिएच (मातृशिशु स्याहार केन्द्र) भवनको ठेकेदारलाई ४८ करोड बराबरको बिल भुक्तानी गर्नुपर्नेछ । उक्त भुक्तानी सिनेट बैठकबाट स्वीकृत गराएर मात्र हुने भएकोले मन्त्री र का.मु.भिसि आन्दोलनकारीहरुको माग सम्बोधन भन्दा पनि सिनेट बैठक बोलाउन जोडबलमा लागेका हुन् । उक्त बिल स्वीकृत गराएर भुक्तानी गराएवापत ठेकेदारले २० प्रतिशत अर्थात करिब साढे ९ करोड कमिशन दिने वचन दिएको पनि प्रतिष्ठानका आन्दोलनरत पक्षको दाबी छ । 

आन्दोलनरत पक्षको भेलालाई सम्बोधन गर्दे कर्मचारी महेश्वार राईले स्वास्थ्य मन्त्रीलाई बढुवामा कुनै चासो नभएको तर ४८ करोडको कमिशनको खेलमा लागेको बताए । उनले भने,‘मन्त्रीलाई पनि बढुवामा मतलब छैन, एमसिएच भवनको ४८ करोडको कमिशनको रोटी सेकाउदैछ, यसको लपेटामा हाम्रो का.मु.उपकुलपति र उसका सिखण्डीहरुले ब्याकअप दिदैछ ।’ 

शिक्षक, कर्मचारीहरुको बढुवा प्रक्रिया अघि बढाउन नियम कानुनले नदिने भनेर अनेक वहाना गरिरहेको भन्दै उनले का.स.बैठकमा २ जना सदस्यलाई नबोलाउनु, रातारात एचओडि फेरिनुलगायत कार्य पनि का.मु.उपकुलपतिले नियम विपरीत गरेको बताए । ‘प्रक्रिया अघि बढीसकेको हाम्रो बढुवामा चै अहिले आएर नियम खोज्ने ?’उनले भने ।

शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानले सहकुलपति (मन्त्री) र का.मु.उपकुलपति डा.कार्कीको अरु नै स्वार्थ रहेकोले नियम, कानुनले नरोक्ने बढुवाको अन्र्तवार्ता सुचारु गर्न नमानेको बताए । ‘उहाँहरुलाई अरु कुनै मतलब नै छैन । कसरी हुन्छ, सिनेट बसाउने भन्ने छ । त्यसैले पक्कै केही स्वार्थ लुकेको छ,’उनले भने, ‘सिनेट बसाउने षडयन्त्र किन हुदैछ ? एमसिएच भवनको विल भुक्तानीको कुरा हुनसक्छ ।’

अन्तर्वार्ता गर्न सिनेट किन चाहियो ?

bpkihs andolan1

अध्यक्ष डा.खानले अहिलेसम्म भएको बढुवाको अन्तर्वार्ता सिनेट बसेर नभएको भन्दै पुरानो नियमावली अनुसार नै विज्ञापन भएर शुरु भएको बढुवा प्रक्रियाको लागी सिनेट बसाउन हतार गर्नुले पनि स्वार्थ लुकेको देखिने बताए । ‘६० प्रतिशतको अन्तर्वार्ता सकिसकेको अवस्थामा अब चै सिनेटमा प्रस्ताव लैजाने रे । त्यस्तो पनि हुन्छ ? कानुनी अड्चन भन्छन्, तर के हो ? त्यो देखाउनुपर्यो नि,’ उनले भने,‘का.मु.उपकुलपतिले यही का.स.बैठकबाट निर्णय गर्न मानेनछन् । अन्य पदाधिकारीहरुले सिनेटपछि सुचारु गर्ने भने । तर हाम्रो माग सिनेट अघि अन्तर्वार्ता सक्नुस्, र सिनेट बसेर रिजल्ट निकाल्नुस् भनेका छौं ।’

अन्तार्वार्ता रोक्नुमा का.मु.उपकुलपतिकी श्रीमतिको भुमिका 

आन्दोलनरत शिक्षक, कर्मचारीहरुले आफुहरुको बढुवा प्रक्रियको अन्तर्वार्ता बीचमै रोकिनु र अहिले सुरुवात हुन नसक्नुमा का.मु.उपकुलपति डा.कार्कीकी श्रीमति प्रा.डा.संगीता भण्डारीको मुख्य हात रहेको बताउदै आएका छन् । डा.भण्डारी प्रतिष्ठानकी नाक,कान,घाँटी विभाग प्रमुख पनि हुन् । साथै उनी विगतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पनि भइसकेकी छिन् । 

केन्द्रसम्म वलियो राजनीतिक पहुँच भएकी डा.भण्डारीकै कारणले अहिले प्रतिष्ठानमा भाडभैलो बनेको चर्चा छ । उनकै कारणले का.मु.उपकुलपति डा.कार्कीले का.स.बैठकबाट अन्तार्वार्ताको मिति तोक्न नसकेको आरोप छ । आन्दोलनरत पक्षले डा.भण्डारीले खुलेर नै बढुवाको अन्र्तवार्ता शुरु नहुने भनेर चुनौती दिने गरेको बताउँछन् । शिक्षक कल्याण समाजका अध्यक्ष डा.खानका अनुसार आज (मंगलबार) बिहान पनि भण्डारीले खुलेआम तिमीहरुको अन्तर्वार्ता हुदैन भन्ने अभिव्यक्ति दिएकी थिइन् । ‘आज पनि मरेर पनि तिमीहरुको अन्तर्वार्ता हुदैन भन्नुभयो, उहाँको विभागमा पनि त्यही भन्नुहुन्छ रे,’खानले भने,‘का.मु.भिसिलाई निर्णय गर्न नदिनुमा उहाँको भुमिका पक्कै छ ।’

भिडियो: