धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सञ्चालक परिषद (सिनेट बैठक) माघ २९ गते गर्ने निर्णय कार्यकारिणी समिति बैठकले गरेको छ । 

हिजो मंगलबार बसेको का.स.बैठकले सहकुलपति एवं स्वास्थ्य मन्त्रीबाट तय भए अनुसार सर्वसम्मतरुपमा सिनेट बैठकको मिति माघ २९ गते गर्ने निर्णय भएको रजिष्ट्रार प्रा.डा.सुर्य प्रसाद संग्रौलाले जानकारी दिए । तर, का.स.बैठकले आन्दोलनरत शिक्षक, कर्मचारीहरुको बढुवाको अन्तर्वार्ता सुचारु गर्नेबारे भने निर्णय गर्न सकेन । हिजो बिहान ९ बजेदेखि शुरु भएको बैठकमा अन्तर्वार्ताबारे निर्णय गर्नुअघि नै कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्की बाहिरिएका थिए । त्यसपछि, उनी बैठकमा आएनन्, र उक्त एजेण्डामा निर्णय भएन ।

बैठक स्थगित पनि नभएकोले रजिष्ट्रार संग्रौलाले भने रात बैठकस्थलमा नै बिताए । आज बिहान फोन सम्पर्कमा रजिष्ट्रार संग्रौलाले भने,‘बैठक स्थगित पनि भएको छैन । भिसि सर छलफलको क्रममा बाहिर जानुभएको हो, त्यसैले छोडेर जान पनि मिलेन । हिजोदेखि नै बैठकस्थलमा नै छुँ ।’ अन्य पदाधिकारी रेक्टर प्रा.डा.सञ्जिवकुमार शर्मा र निर्देशक डा.जगत नारायण प्रसाद भने राती करिब ११ बजेतिर क्वार्टर गएका थिए । मन्त्रालयबाट आएका कार्यकारिणी समिति सदस्य पनि विदा भएर गइसकेका छन् । 

का.मु.उपकुलपतिलाई बैठकमा आउन आफुले लिखितरुपमा नै आग्रह गरेर पत्राचार गरेको पनि संग्रौलाले जानकारी दिए । उनका अनुसार उक्त पत्रको बोधार्थ कुलपति र सहकुलपतिलाई पनि छ । रजिष्ट्रार डा.संग्रौलाका अनुसार सिनेटको मितिबारे निर्णय भएपछि शिक्षक, कर्मचारीको अन्तर्वार्ताबारे उपकुलपतिले सिनेट बैठक बसि सकेपश्चात प्रमाणित गरेर २, ३ दिन पछि गराउने मनसाय प्रकट गरेका थिए । उनको मनसायलाई सकरात्मक लिदै आन्दोलनरत पक्षलाई बोलाएर कुरा गर्दा सहमत नभएको रजिष्ट्रार संग्रौलाले बताए । ‘भिसि सरले आन्दोलनत शिक्षक, कर्मचारी समाजका अध्यक्षसँग कुरा गर्न पनि चाहनु भएन,’उनले भने ।

आन्दोलनकारी थप कडारुपमा जाने भएपछि तीन पदाधिकारीहरुले अन्र्तावार्ता अगाडि नै शुरु गर्ने समझदारी गरेर का.मु.उपकुलपतिलाई प्रस्ताव गरेका थिए । तर, उनले स्वीकार गरेनन् । यसले गर्दा शिक्षक, कर्मचारीहरुको भद्र अवज्ञा आन्दोलन जारी रहदा ओपिडी र पठनपाठन ठप्प नै छ । ‘प्रतिष्ठान गम्भीर मोडमा छ, स्वास्थ्य उपचार सेवा प्रभावित छ, पठनपाठन अवरुद्ध छ । हामीलाई पनि दुःखित तुल्याएको छ,’ रजिष्ट्रार डा.संग्रौलाले भने,‘सम्बद्ध सबै पक्षबाट समस्या समाान गर्न पहल कदमी हुनुपर्छ ।’