धरान: २४ औं टेष्टी टेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगितामा धरानको वडा नं १३ च्याम्पियन बनेको छ ।

धरान १६ स्थित रंगशालामा शनिबार सम्पन्न फाइनलमा साविक विजेता धरान वडा नं १७ लाई ट्राइब्रेकरमा ५-३ गोलअन्तरले हराउदै वडा १३ च्याम्पियन भएको हो । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि ट्राइब्रेकरबाट निर्णय भएको हो । निर्धारित समयको खेलमा पहिलो हाफमा वडा १३ का दोर्जे तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा वडा १७ का मिलन राईले गोल गर्दै खेल बराबरी बनाए । दोस्रो हाफमा भने दुवै टिमबाट निर्णायक गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा वडा १३ का दोर्जे तामाङ, विवेक राई, इक्साहाङ लिम्बु, विपिन श्रेष्ठ र मिलन लिम्बुको प्रहार गोलमा परिणत भएको थियो । वडा १७ का युनेश बुढाथोकी, मिलन राई र सविन राईको प्रहार गोलमा परिणत भएको थियो भने सौजन राईको प्रहार बाहिरिएको थियो ।

godhuli1

च्याम्पियन बनेको वडा १३ ले आयोजकबाट १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार पाएको छ । यस्तै, वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) को बुबाबाट विजेता र उपविजेताले थप २५ / २५ हजार पुरस्कार राशी पाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वडा १७ का प्रज्वल थापा घोषित भए भने हाइस्कोरर वडा १३ का मिलन लिम्बु भए । उनले ५ गोल गरेका थिए । फाइनल खेलको म्यान अफ दि म्याच वडा १३ का दोर्जे तामाङ, वेष्ट गोलकिपर वडा १३ का मिलन घिमिरे, वेष्ट डिफेन्स वडा १३ का निश्चल श्रेष्ठ, वेष्ट मिडफिल्डर वडा १७ का दिवस सुनुवार, वेष्ट स्ट्राइकर वडा १७ का तपन कार्की, वेष्ट कोच वडा १३ का सिजन राई घोषित भए ।

godhuli2

फेयर प्ले टिमको पुरस्कार वडा १४ ले पाउदा राइजिङ प्लेयरको पुरस्कार वडा १३ का मिलन लिम्बुले हात पारे । विजेता, उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथि एवं मेयर हर्क साम्पाङ, निवर्तमान मेयर तिलक राई, एन्फा प्रदेश अध्यक्ष किशोर राई, एन्फा जिल्ला अध्यक्ष नविन राई, सुनसरी जिल्ला खेलकुद विकास समिति अध्यक्ष दिपक राईलगायतले पुरस्कार वितरण गरेका थिए । 

भिडियो: