धरान: बालबालिकाको शिक्षाको लागी धरानमा साइक्लिङको च्यारिटी फन राइड र प्रतियोगिता पनि हुने भएको छ । 

रोटरी क्लब अफ धरानले शनिबार पत्रकार सम्मेलन गर्दे फन राइड र एमटिबी रेस छुट्टा छुट्टै कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो । रोटरी साइक्लोफन २.० च्यारिटी फन राइड ७ किलोमिटरको हुने कार्यक्रम संयोजक विनयलाल श्रेष्ठले जानकारी दिए । यो फन राइड भानुचोकबाट शुरु भएर विभिन्न चोक हुदै धरान १५ खोरिया बस्तीस्थित जनता आधारभुत विद्यालयमा पुग्नेछ । 

यसैगरि, राष्ट्रियस्तरको १६ किलोमिटरको एमटिबि रेस साइक्लोक्रस १.० प्रतियोगिता पनि भानुचोकबाट नै शुरु हुनेछ । यो रेस पनि जनता आधारभुत विद्यालयमा पुगेर समापन हुनेछ । साइक्लोक्रस रेसमा सहभागी सम्पुर्ण खेलाडीहरुको दुर्घटना विमा समेत गरिएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए । उनका अनुसार सुनसरी जिल्ला बाहिरबाट आउने सहभागीहरुलाई एक रातको आवासको व्यवस्था पनि गरिएको छ । साइक्लोक्रस रेस पश्चात विद्यालय परिसरमा स्लो साइकल रेस तथा प्रोफेस्नल साइक्लिष्टहरुद्धारा स्टन पनि प्रस्तुत गर्नेछन् ।

साइक्लो क्रस १.० एमटिबी रेसमा प्रथम हुनेलाई नगद २० हजार, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुनेले नगद १५ हजार, तेस्रो हुनेले नगद १० हजार, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै, महिलातर्फ फाष्टर राइडरले नगद पुरस्कार ५ हजार, मास्टर ४० बर्ष माथिकाले पनि नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउनेछ । कार्यक्रमबाट संकलित रकम जनता आधारभुत विद्यालयलाई विभिन्न खेल सामग्री निर्माण गरेर हस्तानतरण गर्ने योजना रहेको अध्यक्ष शिवनन्द साहले जानकारी दिए । उनले भने, ‘बालबालिकाहरु पढ्न, रमाउन र खेल्नको लागी बालबिकास केन्द्रमा आकर्षित होस् भन्ने खेल सामग्री दिन लागिएको हो ।’

स्वास्थ्य र शिक्षामा विभिन्न सामाजिक दायित्व पुरा गर्दै आएको रोटरी क्लबले आगामी चैत १० गते विष्णुपादुकामा वृहत आँखा शिविर पनि सञ्चालन गर्ने सचिव दिभा श्रेष्ठले जानकारी दिइन् । रोटरीले गत बर्ष पनि साइक्लोफन १.० च्यारिटी फन राइइ आयोजना गरेको थियो । उक्त बर्ष चोक्टीस्थित आधाभुत विद्यालयलाई पिङ, चिप्लेटी, सिस्वलगायत खेलसमग्री निर्माण गरेर हस्तान्तरण गरिएको सचिव श्रेष्ठले बताइन् । 

भिडियो: