धरान: दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको फाइनलमा प्रभात स्कुल र होलिल्याण्ड स्कुल भिड्ने पक्का भएको छ । 

डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा जारी प्रतियोगिताको सोमवार भएको सेमिफाइनल खेलमा प्रभात स्कुलले कार्मेल स्कुललाई ३४–२८ र होलिल्याण्ड स्कुलले डिपो स्कुललाई ५०–१३ अंकको अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पहिलो सेमिफाइनल खेलमा प्रभात र कार्मेल स्कुलले प्रत्येक क्वाटरमा ९–७, ७–७, ८–६ र १०–८ अंक जोडेका थिए । खेलमा प्रभात स्कुललका लियोन राईले व्यक्तिगत २६ अंक जोडे । 

यसैगरि दोस्रो सेमिफाइनल खेलमा होलिल्याण्ड र डिपो स्कुलले प्रत्येक क्वाटरमा ६–१, १८–२, १४–४ र १२–६ अंक जोडेका थिए। खेलमा होलिल्याण्डका युकफुङ लिम्वुले व्याक्तिगत १६ अंक जोडे ।  फाइनल खेल भोलि फागुन ८ गते मंगलवार विहान ८ वजे हुनेछ । प्रतियोगिताका विजेताले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद ७ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

यसैगरि व्याक्तिगत विद्या तर्फ प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर र हाइस्कोररको उपाधि विजेताले जनहि नगद १ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।