धरान: बाझोगरा भलिबल क्लबले छैटौं पानवारी भलिबल कपको उपाधी जितेको छ । 

शुक्रबार धरान–६, पानबारीमा भएको फाइनल खेलमा आयोजक सयपत्री बोइज युनियन क्लबलाई ३–१ को सेटमा पराजित गर्दै बाझोगराले उपाधी जितेको हो । पहिलो सेट २१–२५ ले गुमाएको बाझोगराले त्यसपछि २५–११, २५–१६ र २६–२४ को सेटमा विजयी हुदै उपाधी जितेको हो ।

उपाधीसँगै बाझोगराले ३५ तोला चाँदीको रनिङ ट्रफि र नगद १ लाख पुरस्कार जितेको छ । दोस्रो भएको सयपत्रीले ५० हजार नगद पुरस्कार जितेको छ । फाइनल खेलको म्यान अफ द म्याच बाझोगरा भलिबल क्लबका बालकुमार रायमाझी घोषित हुँदै नगद २५ सय पुरस्कार प्राप्त गरे ।

vallyball1 copy

प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी घोषित हुँदै बाझोगराका रोमन बस्नेतले नगद १० हजार पुरस्कार प्राप्त गरे । त्यस्तै बेष्ट सर्भर सयपत्रीका सविन राई, बेष्ट स्पाइकर सयपत्रीकै विनोद श्रेष्ठ, बेष्ट सेटर बाझोगराका राजन लिम्बू, बेष्ट डिफेन्स बाझोगराका सन्तोष राई, बेष्ट ब्लकर बाझोगराका पुकार तामाङ र बेष्ट कोच बाझोगराका धनबहादुर मगर घोषित भए । उनीहरुलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

फागुन २६ गतेदेखि सुरु भएको प्रतियोगिता चैत्र २ गते समापन भएको हो । भलिबल प्रतियोगितासँगै सम्पन्न भएको रस्सी तान प्रतियोगितामा विजेता पोखरा टोल विकास संस्थालाई बोका उपहार र सगरमाथा  टोल विकास संस्थालाई ३ वटा भाले पुरस्कार प्रदान गरिएको थियो ।