धरान: चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगिताको फाइनलमा आयोजक धरान भेट्रान क्लब र हाम्रो धरान भेट्रान क्लबबीच उपाधि भिडन्त हुने भएको छ । 

धरान १६ स्थित रंगशालामा बुधबार भएको दुई सेमीफाइनल खेलमा जित हात पार्दै आयोजक क्लब र हाम्रो धरान फाइनल प्रवेश गरेपछि घरेलु टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै धरानका भेट्रान खेलाडीहरुको क्लब हो । 

बुधबार पहिलो सेमीफाइनल खेलमा हाम्रो धरान भेट्रानले झापाको दमक लखनपुर भेट्रानलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै फाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबारीमा टुंगिएपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो । 

पेनाल्टी सुटआउटमा हाम्रो धरान भेट्रानका पदम राई, कृष्णकुमार लिम्बु, राकेश राई र तीर्थराज मगरले गोल गरेका थिए भने दमक लखनपुरका सुवास आङथुपो र लोकबहादुर आलेको प्रहार मात्र गोलमा परिणत भयो । मोहन तामाङ र दिपेन गिरी पेनाल्टी सुटआउटमा गोल गर्न असफल भएपछि हाम्रो धरान भेट्रान उपाधि नजिक पुग्यो । उक्त खेलको म्यान अफ दि म्याच हाम्रो धरान भेट्रानका विवश राना मगर घोषित हुदै नगद २१ सय पुरस्कार पाए ।

यसैगरि, दोस्रो खेलमा धनुकटाको रारा भेट्रान क्लब राजारानीलाई ४–१ गोलअन्तरले हराउदै आयोजक धरान भेट्रान क्लब फाइनल प्रवेश गरेको छ । आयोजकको जितमा विकर्ण श्रेष्ठले ह्याट्रिक गरे भने एक गोल कृष्ण शाक्यले गरे । विकर्णले ५, २७ र ४३ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए भने कृष्णले ५२ औं मिनेटमा गोल गरेका थिए ।

रारा भेट्रानको लागि ५३ औं मिनेटमा सुर्यकुमार लिम्बुले गरेको गोल सान्त्वना भयो । उक्त खेलको म्यान अफ दि म्याच धरान भेट्रानका विकर्ण घोषित हुदै नगद २१ सय हात पारे । प्रतियोगिताको फाइनल खेल शुक्रबार आयोजक धरान भेट्रान र हाम्रो धरान भेट्रानबीच हुनेछ।