धरान: तेस्रो स्वर्गीय सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । 

धरान १६ स्थित रंगशालामा मंगलबार भएको ग्रुप बीको अन्तिम लिग खेलमा वडा नं ११ र वडा १७ को खेल गोलरहित बराबरी खेलेर अंक बाँडेपछि सेमीफाइनल समिकरण पुरा भएको हो । समान ५ अंक भएपनि वडा ११ र वडा १७ क्रमशः समुह विजेता र उपविजेता हुदै सेमीफाइनलमा स्थान बनायो । मंगलबारको खेलमा धरान ११ का समिप राई म्यान अफ दि म्याच घोषित हुदै नगद २ हजार, मेडल र ५ सयको जिएफएक्स भौचर प्राप्त गरेका छन् । 

प्रतियोगितामा समुह ए बाट विजेता वडा नं १३ र उपविजेता वडा नं १४ यसअघि नै सेमीफाइनलमा स्थान बनाइसकेको छ । अब सेमीफाइनलमा समुह ए विजेता वडा १३ ले समुह बी उपविजेता वडा १७ को सामना गर्नुपर्नेछ । पहिलो सेमीफाइनल खेल बिहिबार हुनेछ । यस्तै, समुह ए उपविजेता वडा १४ ले समुह बी विजेता वडा ११ को सामना गर्नुपर्नेछ । यो टोलीको सेमीफाइनल खेल शुक्रबार हुनेछ । 

दुधे भेट्रान फाइनल प्रवेश 

तेस्रो हाम्रो धरान भेट्रान फुटवल प्रतियोगितामा दुधे भेट्रान क्लब झापा फाइनल प्रवेश गरेको छ । धरान रंगशालामा आज (मंगलबार) भएको पहिलो सेमीफाइनल खेलमा धरान भेट्रान क्लबलाई २–१ गोलअन्तरले स्तब्ध बनाउदै दुधे सेमीफाइनल प्रवेश गरेको हो । 

दुधेको जितमा दुवै गोल कृष्ण शाक्यले गरेका थिए । धरान भेट्रानबाट सतिस केसीले गोल गरे । प्रतियोगितामा भोली (बुधबार) हाम्रो इटहरी भेट्रान र राजारानी भेट्रान धनकुटाबीच दोस्रो तथा अन्तिम सेमीफाइनल खेल हुनेछ ।