धरान: तेस्रो स्वर्गीय सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा वडा नं १४ फाइनल प्रवेश गरेको छ ।
धरान रंगशालामा शुक्रबार सम्पन्न दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा वडा नं ११ लाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै वडा १४ फाइनल प्रवेश गरेको हो । अब वडा १४ ले आइतबार हुने फाइनलमा उपाधिको लागि वडा १७ को सामना गर्नेछ ।
शुक्रबार निर्धारित र थप समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयको खेलमा वडा ११ को लागि सुसन तामाङले आत्मघाती गोल गरेका थिए भने रिवश मास्केले ८१ औं मिनेटमा दोस्रो गोल गरेका थिए । वडा १४ को लागि पहिलो हाफको छैटौ मिनेटमा गोल गरे भने ६१ औं मिनेटमा विनोद राईले गोल गरेका थिए ।
टाइब्रेकरमा भने वडा १४ का अमोस लिम्बु, बिबिन श्रेष्ठ, इन्सन राई र दोर्जे तामाङले गोल गरे । वडा ११ का अनिल राई, बिकु राईको प्रहार गोलमा परिणत भयो भने अविनाश जिमीको प्रहार असफल भएको थियो ।
पहिलो हाफको ४२ औं मिनेटमा गोलकिपर विनय श्रेष्ठ रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि वडा नं ११ दश खेलाडीमा सिमित भएको थियो । उक्त खेलको म्यान अफ दि म्याच वडा १४ का राजिव खड्का घोषित भए । उनले नगद २ हजार, मेडल र ५ सयको जिएफएक्स भौचर पुरस्कार पाए ।
शनिबार भेट्रान प्रतियोगिताको फाइनल
तेस्रो हाम्रो धरान भेट्रान प्रतियोगिताको फाइनल शनिबार हुदैछ । फाइनलमा उपाधिको लागि धरान भेट्रान क्लब र रारा भेट्रान क्लब राजारानी धनकुटाबीच हुनेछ । फाइनल पुगेको दुवै टोली सेमीफाइनलमा भने पराजित भएको थियो ।
धरान भेट्रान क्लब झापाको दुधे भेट्रानसँग पराजित भएको थियो भने रारा भेट्रान हाम्रो इटहरी भेट्रानसँग पराजित भएको थियो । तर, दुवै टोलीले विजेताले नियम विपरीत कम उमेरको खेलाडी खेलाएको भन्दै प्रोटेस लगाएको थियो । त्यसक्रममा आवश्यक डकुमेन्ट अध्ययन गर्दा नियम विपरीत खेलाडी भएको पाइएपछि आयोजकले फाइनल पुगेको दुवै टोलीलाई कारबाही गर्दै पराजित भएको टिमलाई फाइनल खेल्न दिने निर्णय गरेको हो ।