धरान: नरसिंह मन्दिरको धरान ६ स्थित जग्गा व्यक्तिको नाममा दर्ता गराउन तत्कालिन बाँझगरा गाउँपञ्चायतका पुर्वप्रधानपञ्चदेखि मालपोत कार्यालयमा लेखापढी गर्ने व्यवसायीकोसमेत संलग्नता रहेको खुलेको छ ।

धरान १४ मा अवस्थित मन्दिरको जग्गा व्यक्तिलाई दिलाउन ६ नम्बर वडा कार्यालयले गरेको झुटो सर्जमिन मुचुल्कामा पुर्वप्रधानपञ्च पदम कार्की पनि साक्षी छन् । मन्दिरको ७ कट्टा ११ धुर जग्गा भक्तबहादुर मगरले जोतभोग गरिहेको भएपनि सर्जमिन मुचुल्कामा भने लालबहादुर मगरले जोतभोग गरेको भनेर भुटो विवरण लेखिएको छ । पुर्वप्रधानपञ्च कार्कीसमेतको योजनामा उक्त जग्गा हडप्न यस्तो सर्जमिन गरिएको हो । स्रोतका अनुसार यो जग्गा प्रकरणको मुख्य योजनाकार नै कार्की हुन् । सबैलाई मिलाउने काम कार्कीले नै गरेको हुन् । 

कार्की विगतमा भने उक्त जग्गा नरसिंह मन्दिरकै हो भनेर लागि परेका थिए । तर, मन्दिरले पनि पुष्टि हुने कागजपत्र पेश गर्न नसकेपछि कार्की यु टर्न भएका हुन् । नापीको फिल्डबुकमा लालबहादुर भन्ने नाम उल्लेख भएको आधारमा धरान ४ बस्ने लालबहादुर मगरले कागजपत्र ल्याएपछि पुर्वप्रधानपञ्च कार्की उनैलाई जग्गा दिलाउन लागिपरेका हुन् । बिहिबार वडा नं ६ को कार्यालयले राखेको छलफलमा कार्की स्वयमले पनि यो कुरा स्वीकार गरेका छन् ।

कार्कीले भने, ‘पहिला म पनि यो जग्गा मन्दिरकै हो भनेर लागिपरेको हुँ । तर मन्दिरले प्रमाण ल्याउन सकेन । लालबहादुरसँग सबै प्रमाण छ, त्यसैले उसको जग्गा हो भन्ने आधार भएर मैले नै पहल गरेको हुँ ।’ 

झुटो सर्जमिन गरेकै हो: कार्की

mandir3

सर्जमिन मुचुल्का गर्दा जग्गाको जोतभोग लालबहादुर मगरले गरिरहेको उल्लेख छ तर उक्त जग्गामा भक्तबहादुर मगरले जोतभोग गरिरहेका छन् । उनले नै मन्दिरका पुजारीलाई बार्षिक ५ हजार ठेक्कावापत रकम पनि बुझाउदैछन् । 

पुर्वप्रधानपञ्च कार्कीले झुटो सर्जमिन मुचुल्का गरेको स्वीकार गरे । सञ्चारकर्मीहरुसँगको प्रश्नमा उनले ‘अरुले पनि किर्ते कागज बनाएर जग्गा खाइरहेको छ, हामीले गर्न किन नहुने ?’ भन्दै गैरजिम्मेवार जवाफ दिएका थिए । 

जग्गा खोज्ने व्यक्ति लेखापढी व्यवसायी

mandir1

साविक बाँझगारा ३ कित्ता नम्बर १२५ को ७ कट्टा ११ धुर जग्गाको फिल्डबुक कैफियतमा लालबहादुर लेखिएको भएपनि बषौंसम्म धरान ४ का लालबहादुर थापा मगरलाई थाहै थिएन । तर करिब ५ बर्षअघि उनका छोरा रमेश थापा मगरले आफ्नो लेखापढी गर्ने साथीमार्फत यो कुरा थाह पाएपछि कागजपत्र जुटाउनतिर लागे । 

ती लेखापढी व्यवसायीको अहिले पनि मालपोत कार्यालय धरानमा फर्म रहेको छ । उनी जग्गा दलाली पनि गर्छन् । तर, ती को हुन् भन्ने खुलिसकेको छैन । रमेशका अनुसार ती साथीले नै भनेपछि आफुले बुबाको नाम फिल्डबुकमा भएको थाह पाएर कागजपत्र जम्मा गरिराखेको र सरकारले छुट जग्गा दर्ताको सुचना जारी गरेपनि निवेदन दिएको बताए । ‘बुबाको नाममा जग्गा फिल्डबुकमा दर्ता थिएछ । हामीलाई पनि थाह थिएन । लेखापढी गर्ने साथीले भनेर थाह भएको हो,’उनले भने । 

ती साथीको नाम र फर्म भने उनले खुलाउन चाहेनन् । आफुहरुसँग तीन पुस्ते विवरण, दाबी पुग्ने सबै कागजपत्र प्रमाणकोरुपमा रहेकोले त्यो जग्गा आफुहरुकै हुनुपर्ने उनले बताए । 

मिलाइसकेको छौं भन्यो: वडाअध्यक्ष भट्टराई

mandir2

मन्दिरको जग्गा व्यक्तिको भनेर वडाले झुटो सर्जमिन मुचुल्का गरेको र मालपोतमा पत्राचार गरेको भनेर विवादमा तानिएका वडा ६ का अध्यक्ष भुपेन्द्र भट्टराईले पुर्वजनप्रतिनिधि, समाजसेवी, छिमेकीहरुले नै सर्जमिन गरेकोले लालबहादुर थापामगरको जोतभोग रहेको भनेर उल्लेख गरिएको बताए । साथै लालबहादुरका छोराहरुले जग्गामा जोतभोग गरिरहेका भक्तबहादुर मगर आफन्त भएको र 'मिलाइसकेका छौं 'भनेको पनि वडाअध्यक्ष भट्टराईले जानकारी दिए । 

तर सञ्चारमाध्यमबाट थाह पाएपछि मालपोतलाई पत्राचार गरेर यथार्थ कुरा बुझ्नुपर्ने भएकोले अर्को सिफारिश पत्र प्राप्त नभएसम्मलाई प्रक्रिया स्थगित गर्न आग्रह गरिसकेको पनि वडाअध्यक्ष भट्टराईले बताए । उनले सबै मिलेर आफुलाई पनि फसाउने काम गरेको भन्दै रोष पनि प्रकट गरे । लालबहादुर र उनका छोराहरुसँग पहिला चिनजानसमेत नभएको उनको भनाई थियो ।

भिडियो:

भिडियो:

भिडियो: