धरान: एम्स क्रियटिभ ग्रुपको आयोजनामा जेष्ठ २६ गते शनिवार पहिलो एम्स एसइइ रन प्रतियोगिता हुने भएको छ ।

एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर दौड प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ।  आयोजक संस्था एम्स क्रीयटिभ ग्रुप (एसिजी) एम्स एकेडेमीका बिद्यार्थीहरुको सामाजिक संस्था हो । 

विद्यार्थीहरु बीच भाइचारा बढाउन, खेलकुदको शहरको रुपमा परिचित धरानलाई शिक्षा र खेलकुदको माध्यमबाट थप प्रोत्साहित गर्न दौड प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको आयोजक क्रियटिभ ग्रुपका अध्यक्ष अंकित श्रेष्ठले बताए । उनका अनुसार छात्र र छात्रा गरि दुई समुहमा प्रतियोगिता गराईनेछ । 

प्रतियोगितामा चार सय भन्दा बढीले सहभागिता जनाउने आयोजकको भनाई छ । दौडमा पहिलो, दोस्रो र तेस्रो हुने महिला तथा पुरुष खेलाडीहरुले जनही नगद ५ हजार, ३ हजार र एक हजार नगदसहित ट्रफि, मेडल, प्रमाणपत्र पाउनेछन् । यस्तै, विजेताले एम्स एकेडेमीमा प्लस टु अध्ययनको छात्रवृत्ति पनि प्राप्त गर्नेछन् । 

पहिलो हुनेले शतप्रतिशत, दोस्रोले ५० प्रतिशत र तेस्रो हुनेले ३५ प्रतिशत छात्रवृत्ति पाउने प्रिन्सिपल सन्तोष कोइरालाले जानकारी दिए । आयोजकका अनुसार विद्यार्थी बाहेकका खेलाडीले समेत दौडमा सहभागिता जनाउन पाउनेछन्। दौडमा सहभागी हुन चाहने बिद्यार्थीहरुको नाम निःशुल्क दर्ता गराईने पनि प्रिन्सिपल कोइरालाले बताए । 

चार किलोमिटर दुरीको दौड प्रतियोगिता चतरालाइनस्थित एम्स एकेडेमीबाट सुरु भएर छाता चौक, भानुचौक, पुतली लाइन, दुर्गा चौक, कल्याण चौक, पानीट्याङकी हुदै एम्स एकेडेमिमा नै आएर समापन हुनेछ । प्रतियोगितामा धरान रनको प्राविधिक सहयोग रहनेछ।