धरान: धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्षमा मोटरसाइकल र स्कुटरको पार्किङ शुल्क नलिने भएको छ । 

शुक्रबार भएको कार्यपालिका बैठकले चालु आर्थिक बर्षमा ठेक्कामार्फत १० रुपैया संकलन गर्दै आएको मोटरसाइकलको पार्किङ शुल्क आगामी आर्थिक बर्षमा नलिने निर्णय गरेको हो । तर, बार्षिकरुपमा भने २ सय रुपैया शुल्क लिने निर्णय बैठकले गरेको छ । दैनिक १० रुपैयाको दरले शुल्क तिर्दा बर्षमा ३ हजार ६ सय रुपैया हुन्छ ।

चालु आर्थिक बर्षमा धरानको भानुचोकदेखि छाताचोक, पुतलीलाइन, देशीलाईन क्षेत्रमा मोटरसाइकल र स्कुटरलाई पनि पार्किङ शुल्क लिएपछि स्थानीय सरकारको चर्को आलोचना भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्किङ शुल्कको विरोधमा हस्ताक्षर अभियान नै चलाएको थियो । यही कारण रास्वपा र मेयर हर्क साम्पाङबीच दुरी पनि बढेको थियो । 

कार्यपालिका बैठकमा राजश्व शाखा प्रमुख खगेन्द्रप्रसाद खतिवडाले सडक पुर्वाधार शुल्क भनेर ढुवानीका साधन, बोर्डिङ स्कुलका बसहरुलाई लिदै आएको शुल्क नै प्राइभेट गाडी र मोटरसाइकललाई पनि निर्धारण गर्ने प्रस्ताव आएको बताएका थिए । ‘सडक पुर्वाधार उपयोग शुल्क भनेर ढुवानीका साधन, बोर्डिङ स्कुलका बसहरुलाई लगाएका छौं, अहिलेसम्म नलागेको प्राइभेट गाडी र मोटरसाइकललाई पनि यो शुल्क निर्धारण गरौैं भन्ने हो,’ उनले भने,‘पहिला बार्षिक दर थिएन, दिनको १० रुपैयाले ३६ सय पथ्र्यो । अब बर्षको १ सय रुपैया मात्र पर्छ ।’