धरान: ९ औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सोमवार समापन भएको छ ।

कार्यक्रमका प्रमूख अतिथि एवं कोशी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव कृष्ण वस्नेत (परशुराम) ले वास्केटवल खेल विकाससंगै समग्र खेलकुद विकासको लागि प्रदेश खेलकुद बोर्डबाट सक्दो सहयोग गर्ने बताए । खेलकुद बोर्डबाट हुन नसकेआफुले व्यक्तिगतरुपमा भएपनि सहयोग गर्ने सदस्य सचिव वस्नेतले प्रतिवद्धता जनाएका छन् । उनले तत्काल धरान रंगशाला इन्डोर बास्केटवल कोर्टको स्तर उन्नतिका लागि काम अगाडि वढाउने समेत बताए ।

धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिको संयोजनमा आयोजित ट्यालेण्ट हन्ट गत जेठ १० गते देखि असार १० गतेसम्म एक महिना भएको थियो ।  कार्यक्रममा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग थियो । 

ट्यालेन्ट हन्टमा एल केजि देखि एसइइ दिएर वसेका ६५ जना विद्यार्थीहरुले सहभागिता जनाएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले बताए । बास्केटवल खेल विकास तथा बास्केटवल खेलाडी उत्पादनका लागि ट्यालेन्ट हन्टको आयोजना १३ वर्ष अगाडि देखि सुरु गरिएको उनले वताए । 

basket

एसइइ दिएर वसेका विद्यार्थीहरुलाई लक्षित गरि ट्यालेन्ट हन्ट आयोजना गरिए पनि बास्केटवल सिक्न इच्छुक सबैलाई प्रशिक्षण क्याम्पमा सहभागी गराइएको आयोकजले जनाएको छ । एसइइ दिएका सम्भावित उदयीमान खेलाडीहरुलाई धरानका विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने आयोजकले जनाएको छ । हालसम्म ट्यालेन्ट हन्टका एक सय ५० भन्दा बढिलाई छात्रवृत्तिको लागि सिफारिस गरिसकेको आयोजकले जनाएको छ।

प्रशिक्षण क्याम्प धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न भएको थियो । प्रशिक्षण क्याम्पमा सहभागिहरुलाई प्रदेशका मूख्य प्रशिक्षक विकाश चाम्लिङ राई, राष्ट्रिय महिला बास्केटवल खेलाडी डा. आशा राई, चिरञ्जिवि गिरी, आस्था कुलुङ, निवा चेम्जोङ लगायतले प्रशिक्षण दिएका थिए ।

समापन समारोहमा विद्यार्थी र प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमूख अतिथि सदस्य सचिव वस्नेत, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राई, धरान १० न. वडाध्यक्ष एवं सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राई लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।