धरान: सर्दु खोला पारी (वडा २०) मा बनाइएको फुटबल मैदानमा मेयर हर्क साम्पाङले रिजर्भ ट्यांकी बनाउने भएपछि धरान १३ राईटोलका युवाहरु गत बैशाखदेखि खेल्नबाट बञ्चित भएका थिए ।
फुटबलप्रतिको मोहको कारणले नै राईटोल युवा क्लब र स्थानीय अगुवाहरु नयाँ खेलमैदान बनाउन जुटे । उनीहरुले सर्दु खोला किनार (वडा १३) मा नै जग्गा खोजे । वडा, नगर र वन कार्यालयसँग समन्वय गरेर सेभेन साइजको खेल मैदान तयार गरेका छन् । यो मैदान बनाउन करिब २० लाख खर्च भएको मैदान निर्माण समितिका सल्लाहकार कुलबहादुर मगरले जानकारी दिए । बीस लाख खर्च भएपनि सरकारी बजेट भने नपरेको उनले बताए । ‘यसमा सरकारी बजेट एक रुपैया परेको छैन । देशविदेशबाट साथीभाईहरुसँग राईटोल युवा क्लबले २० लाख सहयोग उठाएर तयार यतिको तयार गरेका छौं,’उनले भने ।
गत बैशाखदेखि नै स्थानीय अगुवा र युवाहरु मैदान बनाउन जुटेका थिए । करिब दुई महिनाअघि भने मैदान खेल्नको लागि तयार भएको थियो । त्यसपछि स्थानीय युवाहरुले नियमितरुपमा मैदानमा अभ्यास गरिरहेका छन् । धरान १३ मा भगवती स्कुलमा मात्र खेल मैदान छ । युवाहरु भगवती स्कुल वा वडा १४ विजयपुरको मैदानमा खेल्न जानुपर्ने बाध्यता थियो । ‘यही मैदान बनेपछि गाउँका भाईबहिनीहरु अन्यत्र खेल्न जानपरेन, सबै खुशी छन्,’ राईटोलकी अगुवा सीता मगरले भनिन् ।
भविष्यमा उक्त मैदानलाई नाइन साइज बनाउने स्थानीयको योजना रहेको छ । साथै, भलिवल कोर्ट पनि बनाउने मैदान निर्माण समितिका सल्लाहकार कुलबहादुर मगरले बताए । मैदान आसपासमा एउटा शौचालय पनि बनाउने उनले बताए । ‘मैदानलाई स्तरोन्नती गर्न हामी प्रदेशमा पनि बजेट माग गर्न जादैछौं,’उनले भने,‘यो बर्ष वडा कार्यालयले मैदान मर्मतको लागि २ लाख बजेट विनियोजन गरेको छ ।’
विवाहित र अविवाहित महिलाबीच मैत्रीपुर्ण खेल
भिडियो
नवनिर्मित राईटोल खेल मैदानमा हिजो शनिबार विवाहित र अविवाहित महिलाहरुबीच मैत्रीपुर्ण फुटबल खेल आयोजना भएको छ । राईटोल दिदी बहिनी समुह र राईटोल युवा क्लबको आयोजनामा उक्त खेल भएको हो ।
मैत्रीपुर्ण खेलमा अविवाहित महिलाहरुको टिमले जितेको थियो । विवाहित महिलाहरुको २ वटा टिम बनेको थियो । दुवै टिमलाई अविवाहित महिलाहरुको टिमले जितेको थियो । मैत्रीपुर्ण खेल हेर्न राईटोलका केटाकेटी, युवा, आमाहरु पनि पुगेका थिए ।
नयाँ खेल मैदानको प्रचारप्रसार, युवाहरुलाई हौसला र छोरीहरुलाई पनि खेलप्रति उत्प्रेरणा जगाउन महिलाहरुको मैत्रीपुर्ण खेल आयोजना गरिएको सीता मगरले बताइन् । ‘खेलमा भाईहरुको लगाव छ, उनीहरुलाई हौसलाको लागि आमाहरुको पनि साथ सपोर्ट हुदा राम्रो हुन्छ भनेर खेल आयोजना भयो,’ उनले भनिन्,‘केटाहरु मात्र खेलिरहेका छन्, त्यसैले केटीहरुको लागि पनि आयोजना गरिएको हो, महिलाहरुको नयाँ खेलाडी जन्माउन प्रेरित होस् भन्ने उद्देश्य पनि हो ।’
मैत्रीपुर्ण खेल सम्पन्न भएपछि प्रोत्साहन स्वरुप सागर कार्कीले म्यान अफ दि म्याच पुरस्कारमा रिचार्ज कार्ड दिएका थिए । उनले विवाहित महिला टिमका स्ट्राइकर सनम मगर, डिफेन्स गीता राना मगर र गोलकिपर रीता गुरुङलाई पुरस्कार दिएका थिए । यस्तै, अविवाहित टिमबाट रिका तामाङलाई पनि पुरस्कार दिएका थिए ।