धरान: धरान उपमहानगरपालिका वडा नं ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा निर्माण भइरहेको स्मार्ट बसपार्कको काम रोक्न दायर भएको ५ वटा रिट खारेज भएको छ भने एउटामा आंशिक रिट जारी भएको छ ।

आयोजना र उपमहानगरपालिकासँग असन्तुष्ट स्थानीय एवं बसपार्कको लागि जग्गा निःशुल्क प्रदान गरेकाहरुले निर्माणाधिन बसपार्कको काम रोक्न भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका थिए । कुल ६ जनाले छुट्टाछुट्टै मुद्दा दायर भएकोमा यसअघि तीन वटा मुद्दामा अन्तरिम आदेश जारी भएर बसपार्क निर्माणको काम प्रभावित भएको थियो । यद्यपी, ठेकेदारले समयमा नै काम सम्पन्न गरिसकेको थियो । तर उच्च अदालतको आदेशकै कारण ठेकेदारले निर्माण सम्पन्न गरेपनि भुक्तानी पाएको थिएन । अदालतको आदेशले ठेकेदारलाई भुक्तानी दिने कि नदिने भन्ने एजेण्डालाई कार्यपालिका बैठकमा नै लैजानुपरेको थियो ।

विभिन्न ६ जनाले छुट्टा छुट्टै मुद्दा दायर गरेपनि एउटै बिषय भएकोले सोमबार उच्च अदालतले एउटै इजलाशबाट पेशी तोकेको थियो । न्यायाधिश केशव प्रसाद बास्तोला र कृपासुर कार्कीको संयुक्त इजलाशले ५ वटा रिट खारेज गरिदिएको छ भने एउटा मुद्दामा आंशिक आदेश जारी गरेको उपमहानगरपालिकाका कानुनी सल्लाहकार अबइन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार अब बसपार्कको काम निर्माण सम्पन्न गर्न तथा अन्य काम अघि बढाउन कानुनीरुपमा नै बाटो खुलेको छ ।

new buspark2

बसपार्कको बिषयमा स्थानीय मणिराज राई, हकवाला सरनबहादुर लिम्बु, शिवकुमारी राई, दिलमाया लामा र बालकुमार राईले रिट दायर गरेका थिए । उनीहरु मध्ये मणिराज, सरन, शिवकुमारी र दिलमायाले निषेधाज्ञा माग गर्दे रिट दायर गरेका थिए भने बालकुमारले उत्प्रेषणयुक्त परमादेश माग गर्दे रिट दायर गरेका थिए । उनीहरु सबैको रिट अदालतले खारेज गरिदिएको छ । 

यस्तै, आयोजना तथा बसपार्क क्षेत्रका बासिन्दा नभएपनि इमानसिंह राईले सार्वजनिक सरोकारको बिषय भन्दै गैरकानुनीरुपमा बसपार्क निर्माण गरिरहेको दाबी गर्दै रिट दायर गरेका थिए । अन्तरिम आदेश जारी भएको यो मुद्दामा मात्र आंशिक रिट जारी हुने आदेश दिएको छ । यद्यपी, फैसलाको विस्तृत विवरण आउन बाँकी रहेको कानुनी सल्लाहकार निरौलाले बताए ।

1 copy

2 copy