धरान: छ दिनअघि धरान वडा नं ३ स्थित माछाभौडी नजिकै श्रीपथमा १४ बर्षीया युजिन शाहीको हत्या गरिएको घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ । 

वडा नं ३ का वडाअध्यक्ष विद्या शाक्यसहित जनप्रतिनिधिहरुले इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानमा पत्र बुझाउदै कारबाहीको माग गरेका हुन् । भदौ ११ गते बिहान करिब ११ः४५ बजे सृर्जना शाही र उनकी छोरी युजिनमाथि धारिलो हतियार प्रहार भएको थियो । आमा सृर्जना घाइते भएकी थिइन् भने युजिनको उपचारको क्रममा मृत्यु भएको थियो । उनी विजयपुर स्कुलमा कक्षा ९ मा अध्ययनरत थिइन् ।

उक्त घटनामा संलग्न संखुवासभा नगरपालिका २ चेवावेसीका बबिन बराल पक्राउ परिसकेका छन् । उनी सृर्जनाकी आफ्नै बहिनीका श्रीमान् हुन् । उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी पनि भइसकेको छ । वडा नं ३ का वडा सदस्य तथा युजिनकी बडाबुबा मनिष खड्गीका अनुसार घटनाबारे गम्भीर चासो व्यक्त गर्दै आज (आइतबार) सम्पुर्ण नेवारी संघसंस्थाहरुको बैठक बसेर दोषीलाई हदैसम्मको कडा कारबाही गर्न कानुन सम्मतढंगले दबाब दिने तथा आवाज उठाउने निर्णय भएको छ । 

yujin1

यसैगरि, विद्यार्थी मृत्यु भएको घटनामा विभेदपुर्ण व्यवहार गरेको कारण सम्पुर्ण नेवारी संघसंस्थाहरु स्थानीय सरकारसँग असन्तुष्ट पनि बनेका छन् । ती संघसंस्थाहरुको भावनाको प्रतिनिधित्व गर्दे वडाका जनप्रतिनिधिहरुले सोमबार स्थानीय सरकार प्रमुख मेयर हर्कराज राई (साम्पाङ)लाई भेटेर ध्यानाकर्षण पनि गराउने भएका छन् । 

‘पछिल्लो दिनमा धरान २ वटा दुःखद घटनामा दुई जना विद्यार्थीको ज्यान गयो । तर स्थानीय सरकारले एउटामा शोक विदा दियो, अर्कोमा दिएन,’ धरान खड्गी समाजका अध्यक्षसमेत रहेका वडा सदस्य खड्गीले भने,‘हाम्रो पीडामा पनि महलम लगाउन उहाँहरु आइदिनुभएको भए कति सान्त्वना पुग्थ्यो ।’

युजिनको हत्या भएको २ दिनलगत्तै धरान वडा नं ११ स्थित ऐश्वर्य मार्गमा ड्रेनको बाढीले बगाएर वडा १७ का १४ बर्षीय रोशन लिम्बुको मृत्यु भएको थियो । भिक्टोरिया स्कुलमा कक्षा ९ मा अध्ययनरत रोशन घर फर्कदै गर्दा उक्त घटना भएको थियो । उक्त घटनाको भोलीपल्ट मेयर साम्पाङ मृतकको घरमा पुगेर सान्त्वना दिएका थिए भने मेयर कोषबाट ५ लाख रुपैया राहत दिने निर्णय पनि गरेका थिए । ‘वडा ११ मा भएको घटना र परिवारप्रति हाम्रो पनि सहानुभुति छ, तर राज्यले सबै पीडितलाई एउटै आँखाले हेरिदिनुपर्छ, समान व्यवहार गर्नुपर्छ भन्ने अनुरोध मात्र हो,’ खड्गीले भने ।

yujin2