धरान: आफ्नै सानो बुबाद्धारा हत्या गरिएकी धरान वडा नं ३ निवासी १४ बर्षीया युजिन शाहीको परिवारलाई पनि मेयर हर्कराज राई साम्पाङले ५ लाख रुपैया दिने भएका छन् । 

वडा नं ३ का अध्यक्ष विद्या शाक्यसहित वडाका सबै जनप्रतिनिधिहरुले सोमबार मेयर साम्पाङ र उपमेयर आइन्द्रबिक्रम बेघालाई छुट्टा छुट्टै भेटेर युजिनको परिवारलाई पनि क्षतिपूर्ति, शोक विदा र दोषीलाई हदैसम्मको कडा सजायको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए । मेयर साम्पाङले वडा कार्यालयबाट आएको पत्रमा लेखालाई मेयर कोषबाट ५ लाख रुपैया सहयोग दिन तोक लगाएका छन् । यसैगरि, मेयर साम्पाङले भदौ २० गते बिहिबार विद्यालयहरुमा शोक विदा दिन पनि शिक्षा महाशाखालाई तोक लगाएका छन् । 

20240827_171828

यसअघि वडा नं ११ एश्वर्य मार्गको ड्रेनमा आएको बाढीले ज्यान गुमाएका विद्यार्थी रोशन लिम्बुको परिवारलाई पनि मेयर साम्पाङले नगद ५ लाख राहत दिने निर्णय गरेका थिए भने शोक विदा पनि दिएका थिए । युजिन हत्याको घटनामा भने विद्यालयहरुमा शोक विदासमेत नदिइएकोमा नेवारी संघसंस्थाहरु र वडा ३ को कार्यालयका जनप्रतिनिधिहरुसमेत स्थानीय सरकारसँग असन्तुष्ट भएका थिए । 

मेयर साम्पाङले शोक विदा दिने र मृतक परिवारलाई ५ लाख रुपैया क्षतिपूर्ति दिने निर्णय गरेकोमा वडाका जनप्रतिनिधिहरुले आभार प्रकट गरेका छन् । वडा ३ का सदस्य तथा धरान खड्गी समाजका अध्यक्ष मनिष खड्गीले स्थानीय सरकारले विभेद गरेको महशुस गरेर ध्यानाकर्षण पत्र बुझाएकोमा सम्बोधन भएको बताए । साथै उनले भदौ २० गते नेवारी परम्परामा १० दिनदेखि सुद्धिकार्य शुरु हुने र सोही दिन शोक विदा पनि दिइएकोले साँझ ६ बजे कैलाशपथ सिद्रा बजार कर्नरमा दिप प्रज्वलन गर्ने गर्ने कार्यक्रम रहेको पनि बताए । 

ujin1