धरान: नेपालकै चर्चित प्रतियोगिता अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २५ औं (सिल्भर जुब्ली) सँस्करणको तयारी शुरु भएको छ ।
आयोजक धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै आगामी माघ १९ गतेदेखि २६ गतेसम्म २५ औं सँस्करण हुने जानकारी दिएको हो । सिल्भर जुब्ली सँस्करण भएकोले प्रतियोगितालाई भव्य बनाउन तयारी शुरु भएको अध्यक्ष प्रताप तामाङले जानकारी दिए । क्लबले विगतमा शुरु गरेर अलपत्र परेको १ करोड अक्षयकोष बनाउने योजनालाई निरन्तरता दिने घोषणा पनि गरेको छ ।
अक्षयकोषको लागि धरान हङकङ मञ्चले सहयोग गर्ने भएको पनि अध्यक्ष तामाङले जानकारी दिए । उनका अनुसार विगतमा मञ्चले पहिलो नगद पुरस्कार प्रायोजन गर्दै आएको थियो । यसपाली भने मञ्चले करिब ५० लाख हराहारीको अक्षयकोषको लागि सहयोग गर्ने भएको पनि उनले बताए । ‘हाम्रो पहिलादेखि कै प्रयास थियो, यसपाली सफल भएका छौं,’ खुशी हुदै उनले सुनाए ।
पहिलो पुरस्कार १० लाख, लिग च्याम्पियनसहित सम्भावित १० टिम
आयोजक क्लबका अनुसार विजेताले १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ । उपविजेताको पुरस्कार धरान वडा नं १५ निवासी हाल पोर्चुगलबाट सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि अध्यक्ष तामाङले जानकारी दिए।
क्लबका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख पाउनेछ भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछन् । सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउनेछ भने प्रत्येक खेलको म्यान अफ दि म्याचले १५ हजारको दरले नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाइजसहित एनआरटि क्लब काठमाण्डौं, नेपाल पुलिस क्लब, भुटान फुटबल एकेडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृति क्लब, युकेएफसी (भारत), मच्छिन्द्र क्लब काठमण्डौं, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब सहभागी हुने सम्भावित टिमहरु रहेको पनि आयोजकले जनाएको छ ।
अनुमानित आम्दानी १ करोड, खर्च ८० लाख
प्रतियोगिताको २५ औं सँस्करणको आयतर्फ १ करोड २ लाख २५ हजार अनुमान गरिएको क्लबले जनाएको छ । यस्तै, ८० लाख १० हजार खर्च हुने अनुमान गरिएको क्लबले जनाएको छ ।
धरान उपमहानगरबाट १० लाख, मुख्य प्रायोजक टुबोर्ग बियरबाट १२ लाख, सहप्रायोजक रेड बुल ५ लाख, राखेप र कोशी प्रदेश खेलकुद विकास बोर्डबाट १०/१० लाख, विदेशी संघसंस्थाहरुबाट २५ लाख अनुमान गरिएको क्लबले जनाएको छ ।
*समाचारमा सिल्भर हुनुपर्नेमा गोल्डेन लेखिएकोमा सच्याइएको छ ।
भिडियो