धरान: हिसान सुनसरीको ११ औ स्पोर्टस् मिट अन्तर्गत आयोजना भएको हिसान बास्केटवल च्याम्पियनसिपको उपाधि धरान मेघा हिमालयन कलेज र धरान उच्च माविले चुमेको छ ।
धरान मेघा हिमालयनले पुरुष तर्फको उपाधि जितेको हो भने धरान उच्चले महिला तर्फको उपाधि जितेको हो । पुरुष तर्फको फाइनल खेलमा धरान मेघाले धरान उच्चलाई ४६–२५ र महिला तर्फको खेलमा धरान उच्चले धरान मेघालाई २०–१८ अंकले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै धरान मेघा र धरान उच्चका खेलाडिहरुले ट्रफि, मेडल र प्रमाणपत्र हात पारे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयरको उपाधि पुरुष तर्फ धरान मेघा कलेजका प्रशान्त तामाङ र महिला तर्फ धरान उच्चका कासाङमा लिम्वु घोषित भए ।
यसैगरि फाइनलको म्यान अफ द म्याच पुरुष र महिला दुवैतर्फ धरान मेघा हिमालयनका सेजेन गुरुङ र स्वेता राई घोषित भए । उनीहरुलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसैगरि, फाइनल खेलका टिम क्याप्टेन, कोच, म्यानेजर र व्यक्तिगत पुरस्कार विजेता खेलाडीहरुलाई प्रतियोगिताका प्रायोजक केआइइसि इटहरी र एक्सपर्ट भिसा सर्भिसले गिफ्ट ह्याम्पर प्रदान गरेको थियो ।
पुरुष तर्फको फाइनल खेलमा सहज जित निकालेको धरान मेघा र धरान उच्चले प्रत्येक क्वाटरमा ८–४, १५–४, ९–२ र १४–१५ अंक जोडेको थियो ।
यसै गरि महिला तर्फको खेल भने प्रतिस्पर्धात्मक रहेको थियो । प्रत्येक क्वाटरमा धरान उच्च र धरान मेघाले २–५, ९–०, ३–६ र ६–७ अंक जोडेका थिए । विजेता, उपविजेता खेलाडीहरुलाई प्रतियोगिताका प्रमुख अतिथि सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेली, हिसान सुनसरीका अध्यक्ष सागर भट्टराई, सिहान केन्द्रिय सदस्य गंगा चौलागाई, हिसान सुनसरी उपाध्यक्ष नेत्र सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिता व्यवस्थापन तथा प्राविधिक सहयोग सुनसरी बास्केटवल संघ र धरान वास्केटवल संघले गरेका थियो । प्रतियोगिामा महिला तर्फ ३ र पुरुष तर्फ १० टिमले सहभागिता जनाएको थियो ।