धरान: फुटबल खेलको विकास तथा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित दोस्रो पानवारी गोल्डकप आगामी बर्ष २०८२ को बैशाख १३ गतेदेखि १९ गतेसम्म हुने भएको छ । 

आयोजक पानवारी फुटबल क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता धरान वडा नं ६ स्थित बाजीपाक फुटबल मैदानमा सञ्चालन हुने जानकारी दिएको छ । प्रतियोगितामा विभिन्न ८ वटा टिम सहभागी हुने आयोजक क्लबका अध्यक्ष कृष्णकुमार राई (भुपाल)ले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पहिलो सँस्करणको विजेता मोरङको केराबारी फुटबल क्लब, उपविजेता धनकुटासँगै झापाको टिम पनि सहभागी हुने पक्का भइसकेको छ । साथै, भारतको टिमलाई पनि सहभागी गराउन पहिल भइरहेको अध्यक्ष राईले बताए । 

प्रतियोगिताको विजेता र उपविजेतालाई दिइने पुरस्कार राशी पहिलो सँस्करणको तुलनामा दोब्बर बनाइएको पनि आयोजक क्लबले जानकारी दिएको छ । अध्यक्ष राईका अनुसार विजेताले च्याम्पियन ट्रफीसँगै २ लाख २२ हजार २२२ रुपैया नगद पुरस्कार पाउनेछ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैया नगद पाउनेछ । पहिलो सँस्करणमा भने विजेताले १ लाख ११ हजार १११ रुपैया पुरस्कार पाएको थियो भने उपविजेताले ५५ हजार ५५५ रुपैया पाएको थियो । 

भिडियो:

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पाउनेछ भने उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, हाइ स्कोरर, बेष्ट कोच र बेष्ट स्ट्राइकर घोषित खेलाडीले जनही नगद ७ हजार पुरस्कार पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याच खेलाडीले नगद ५ हजार पाउनेछन् । 

पानवारी सामुदायिक वन समुह संयोजक रहेको प्रतियोगिताको अनुमानित आय १९ लाख रहेको छ भने अनुमानित खर्च १७ लाख १२ हजार ३३३ रुपैया रहेको छ । उपमहानगरपालिका, वडा कार्यालय, विभिन्न संघसंस्था र मनकारी दाताहरुबाट प्रतियोगिताको लागि सहयोग जुट्ने अपेक्षा गरिएको अध्यक्ष राईले बताए । 

स्थानीय खेलाडी उत्पादनमा र खेलाडीहरुलाई हौसला मिल्ने भएकोले प्रतियोगितालाई निरन्तरता दिइने पनि अध्यक्ष राईको भनाई थियो । ‘पानवारीको पहिचान र गौरवलाई यो गोल्डकपले बढाएको छ । खेलाडीहरुलाई प्रेरणा मिलेको छ, र हामीले एउटा प्रतियोगिता नै जितिसकेका छौं,’ उनले भने ।

panbari goldcup1

पानवारीमा ४ वटा मैदान भए वन क्षेत्रमा छ । ती मैदानलाई सामुदायिक वनको कार्यायोजनामा नै फुटबल मैदान भनेर उल्लेख गरिएकोले खेलकुदको लागि उपयोग गर्न बन्देज छैन । यद्यपी, मैदानलाई व्यवस्थित गर्नुपर्ने अध्यक्ष राईले बताए । ‘वडाले र नगरपालिकाले सहयोग गरेकै छ, अझै गर्नुहुन्छ भन्ने अपेक्षा छ,’उनले भने ।

वडा सदस्य नारायण निरौलाले वडा नं ६ ले खेलकुदको विकास र प्रर्वद्धनमा स्रोत, साधनले भ्याएसम्म सहयोग गर्ने बताए । मैदानलाई स्तरोन्नती गर्न सामुदायिक वनसँग समन्वय गर्ने पनि उनले बताए । ‘यो प्रतियोगिता व्यक्तिगत होइन, सामुहिक हो । त्यसैले सबैले सहयोग गर्नुपर्छ,’उनले भने । 

panbari goldcup2

पत्रकार सम्मेलनमा पहिलो सँस्करणमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा वडा सदस्य नारायण निरौला, दोस्रो पुरस्कार दाता निरज राई, ५० हजार सहयोग गर्ने श्रीप्रसाद लिम्बु, ३५/३५ हजार सहयोग गर्ने नन्द जगेबु र राजेन्द्र राईलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो । सम्मानितकोतर्फबाट बोल्दै निरज राईले प्रतियोगितालाई सफल गराउन राजनीति, जाति भन्दा माथि उठेर सबैले साथ, सहयोग गर्न आग्रह गरे । 

panbari goldcup3

panbari goldcup4