धरान: अन्तर वडास्तरीय २५ औं टेष्टी टेष्टी गोधुली रनिङ कपमा वडा नं १४ र वडा नं ४ विजयी भएको छ ।
धरान १६ स्थित रंगशालामा आइतबार भएको पहिलो खेलमा वडा नं १४ ले वडा नं ९ लाई २–१ गोलअन्तरले हरायो । वडा १४ का निमेश तामाङ र रञ्जित क्षेत्रीले गोल गर्दै टिमलाई जिताए । वडा ९ का लेसन राईले एक गोल गरे ।
पहिलो हाफको १६ औं मिनेटमा निमेशले गोल गर्दै वडा १४ को खाता खेलेका थिए । दोस्रो हाफको १० औं मिनेटमा रञ्जितले गोल गर्दै २–० को अग्रता बनाएका थिए । दोस्रो हाफको इञ्जुरी समयमा वडा ९ का लेसनले गोल गरेपनि सान्त्वनामा सिमित भयो । खेलको म्यान अफ दि म्याच वडा १४ का निमेश तामाङ घोषित भए ।
यस्तै, आइतबार नै सम्पन्न दोस्रो खेलमा वडा नं ४ ले वडा १ लाई ४–१ को फराकिलो अन्तरमा पराजित गर्यो । वडा ४ का सन्तोष लिम्बुले २ गोल गरेका थिए भने आमोश राई र आनन्द राईले एक एक गोल गरेका थिए ।
पहिलो हाफको ५ औं मिनेटमा आमोशले गोल गरेर वडा ४ को खाता खोलेका थिए भने १५ औं मिनेटमा आनन्दले दोस्रो गोल गरे । यस्तै, सन्तोषले दोस्रो हाफको ११ औं र इञ्जुरी समयमा तेस्रो र चौथो गोल गरेका थिए । वडा १ का शुलभ लिम्बुले दोस्रो हाफको १२ औं मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच वडा ४ का सन्तोष लिम्बु घोषित भए ।
सोमबार पनि २ खेल हुने आयोजक गोधुली क्लबले जनाएको छ । पहिलो खेल साढे ५ बजे वडा १८ र १९ बीच हुनेछ भने दोस्रो खेल वडा १ र वडा ३ बीच हुनेछ ।