धरान: बास्केटवल खेलको विकास तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले यही वैशाख ३ गतेदेखि १० औं बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सुरु हुने भएको छ ।
धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग र धरान उपमहानगरपालिकाको संयोजनमा कार्यक्रम हुन लागेको हो । संघले नियमितरुपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पको आयोजना गर्दै आइरहेको छ । विशेष गरेर एसइइ दिएका विद्यार्थी लक्षित कार्यक्रम भए पनि बास्केटवल सिक्न इच्छुक सवैलाई प्रशिक्षण क्याम्पमा सहभागि गराइने सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले बताए ।
ट्यालेन्ट हन्टमा सहभागी एसइइ दिएका उत्कृष्ट विद्यार्थी खेलाडिहरुलाई धरानका विभिन्न कलेजमा छात्रवृत्तिमा सिफारिस गरिने पनि संघले जानकारी गराएको छ । यसअघि ९ औ ट्यालेन्ट हन्टका करिव दुई दर्जन महिला पुरुष विद्यार्थीहरुलाई धरान मेघा हिमालयन कलेज र डिपो स्कुललमा कक्षा ११ र १२ कक्षाका लागि छात्रवृत्तिको लागि सिफारिसमा परेका थिए । हाल उनीहरु विद्यालयबाट बास्केटवल खेल्दै अध्ययनसमेत गरिरहेको अध्यक्ष सुवेदीले बताए ।
संघले अहिलेसम्म दुई सय भन्दा बढी खेलाडी विद्यार्थीहरुलाई निःशुल्क छात्रवृतिमा अध्ययन गराइसकेका छन् । प्रशिक्षण क्याम्प तिन हप्ता सम्म चल्नेछ । प्रशिक्षण क्याम्प धरान १६ स्थित धरान रंगशालामा रहेको इन्डोर बास्केटवल कोर्टमा सम्पन्न हुनेछ ।
विहान ६ वजे देखि ८ वजेसम्म चल्ने प्रशिक्षण क्याम्पमा सहभागिहरुलाई राष्ट्रिय बास्केटवल प्रशिक्षक बिकास चाम्लिङ राई, राष्ट्रिय बास्केटवल खेलाडि डा. आशा राई, कोशी प्रदेश बास्केटवल खेलाडी सुसन श्रेष्ठ, दिवस राई, आस्था राई, एल्भिना गुरुङ्ग, निवा लिव्वु, सितल तामाङ, युगल लिम्वु, चिरञ्जिवि गिरि लगायतले प्रशिक्षण दिने संघले जनाएको छ ।