धरान: कोशी प्रदेश स्तरीय ओपन बास्केटवल प्रतियोगिता बिहिबारदेखि धरानमा शुरु भएको छ ।
धरान बास्केटवल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनामा प्रतियोगिता शुरु भएको हो । धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा शुरु भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एवं कोशी प्रदेश खेलकुद विकास वोर्डका सदस्य सचिव कृष्ण वस्नेत (पर्शुराम)ले पानसमा दिप प्रज्वलन गरेर गरेका थिए । असार ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जिल्ला सुनसरी बास्केटवल टिम विजयी भएको छ ।
उक्त खेलमा सुनसरीले मोरङ बास्केटवल टिमलाई ७४–३१ अंकको फराकिलो अन्तरले पराजित गरेको हो । खेलमा सुनसरीले पहिलो, दोस्रो र चौथो क्वाटरमा क्रमशः १५–९, २५–५ र २३–० ले अग्रता लिएको थियो । मोरङले भने खेलको तेस्रो क्वाटरमा मात्र १७–११ अंकले अग्रता बनाएको थियो । खेलमा सुनसरीका टिम क्याप्टेन विवेकमणि श्रेष्ठले व्यक्तिगत १५ अंक जोड्दै म्यान अफ द म्याच घोषित भएका थिए । उनलाई नेपाल पत्रकार महासंघ सुनसरीका निर्वतमान अध्यक्ष जनकऋषि राईले ट्रफि प्रदान गरिएको थियो।
यस्तै, आजै भएको दोस्रो खेलमा इलाम बास्केटवल टिमले झापा बास्केटवल टिमलाई ८१–४० अंकले पराजित गरेको छ। इलाम र झापाले खेलको प्रत्येक क्वाटरमा १९–७, २२–१४, ३०–४ र १०–१५ अंक जोडेको थियो । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत ३४ अंक जोड्न सफल इलामका टेन्जिङ शेर्पा म्यान अफ द म्याच घोषित भए । उनलाई सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राईले ट्रफि प्रदान गरेका थिए । जितसंगै सुनसरी र इलाम सेमिफाइनल प्रवेश गरेको छ ।
प्रतियोगिताका विजेताले नगद २ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद एक लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडि धरान मेघा एमभिपि मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले नगद १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ। सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा आयोजित उद्धघाटन कार्यक्रममा धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम वेघा, धरान १८ नं. वडाध्यक्ष प्रविण राई, १६ नं. वडाध्यक्ष मुरारी भट्टराई, ८ नं. वडाध्यक्ष धनवहादुर राई, डिपो स्कुल व्यवस्थापन समिति सदस्य सुर्य पन्धाक, लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा धरान उपमहानगरपालिका र सुनसरी बास्केटवल संघको विशेष सहयोग रहेको छ ।
भिडियोः