धरान: लामो समयपछि आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रमको लागि नगरसभाको मिति तय गर्न बोलाइएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आइतबार शुरु नभै स्थगित भएको छ ।
उपमेयर अइन्द्रबिक्रम बेघासहित २८ जना नगर कार्यपालिका सदस्यहरुले कानुनी प्रक्रिया र आवश्यक तयारी नगरी कार्यपालिका बैठक बस्न औचित्य नदेखिएको भन्दै लिखितरुपमा पत्र बुझाएपछि मेयर हर्कराज राई (साम्पाङ) ले बैठक स्थगित गरेका हुन् । स्थानीय तहमा असार १० गतेभित्र नगरसभामा बार्षिक बजेट तथा कार्यक्रम पेश गर्नुपर्ने कानुनी प्रावधान छ । आइतबार (असार ८) को बैठक स्थगित भएपछि कानुनमा व्यवस्था भएवमोजिम असार १० गते नगरसभामा धरानको बजेट तथा कार्यक्रम पेश हुने अनिश्चिता भएको हो ।
आइतबार दिउँसो २ बजेको लागि कार्यपालिका बैठक आह्वान भएको थियो । बैठकमा प्रमुख प्रशासकीय अधिृकतसमेत अनुपस्थित रहेका थिए । उनी काठमाण्डौंबाट आउदै गरेको भनिएपनि झण्डै २ घण्टा ढिलाई बैठक हुँदा पनि आइपुगेका थिएनन् । उपमेयर बेघाका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ को उपदफा ६ को १ वमोजिम स्थानीय तहको स्रोत अनुमान तथा बजेट सिमा प्रत्येक बर्षको बैशाख १० गतेभित्र निर्धारण गरिसक्नुपर्ने प्रावधान छ । साथै, सोको जानकारी बैशाख १५ गतेभित्र बिषयगत महाशाखा, शाखा र वडाहरुलाई उपलब्ध गराईसक्नुपर्ने प्रावधान छ ।
यस्तै, तोकिएको सिमा भित्र रहेर बजेट तथा कार्यक्रम तर्जुमा समितिले स्थानीय तहको बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरि असार १० गते अगावै कार्यपालिकाबाट अनुमोदन गराई असार १० गतेभित्र स्थानीय तहको सभामा पेश गर्ने प्रावधान पनि उक्त ऐनमा रहेको छ । तर, धरानमा भने अहिलेसम्म यस्तै कुनै तयारी भएको छैन । यसअघि बजेट सिलिङ तथा सिमा निर्धारण समितिको बैठकमा पनि विवाद भएको थियो । त्यसबेला मेयर साम्पाङका समर्थकहरु उपमहानगरमा पुगेपछि धरानमा तनावपुर्ण स्थिति बनेको थियो ।
उपमेयर तथा कार्यपालिका सदस्यहरुले सबै कानुनी प्रक्रिया पुरा गरेर र एजेण्डा समावेश गरी मात्र कार्यपािलका बैठक आह्वान गर्न माग गर्दै मेयर साम्पाङलाई पत्र बुझाएका हुन् । आजको बैठकमा मेयर साम्पाङले नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेका थिए । असार १० गते नगरसभा आह्वान गर्ने र उक्त दिन नीति तथा कार्यक्रम पेश गरेर स्थगित गर्ने र बजेट तथा कार्यक्रमबारे पछि छलफल गरेर सहमति जुटेपछि नगरसभा आह्वान गर्ने रणनीति उनको थियो । गत बर्ष पनि अन्तिम समयमा यस्तै सहमति जुटेर नगरसभा भएको थियो।
भिडियो :