धरान: भुटानमा सम्पन्न भएको साउथ एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी रजत पदक जितेका अवतार श्रेष्ठलाई आइतबार धरानमा भव्य स्वागत तथा सम्मान गरिएको छ ।
गृहनगर धरान आउने क्रममा आइतबार दिउँसो उनलाई तीनकुनेदेखि नै स्वागत गरि गाडीमा राखेर नगर परिक्रमा गराइएको थियो । उनको स्वागतमा उपमहानगरपालिकाले गाडी पठाएको थियो भने बडिबिल्डिङका खेलाडीहरुसँगै वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र कार्यपालिका सदस्य विकास भाटी पनि पुगेका थिए । धरान खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा रजत पदक जितेर देशकै गौरव बढाएकोले सम्मानको लागि स्वागत गरिएको वडाअध्यक्ष राईले बताए ।
मोटरसाइकल, टेम्पोसहितको र्याली तिनकुनेबाट भानुचोक, लक्ष्मी चोक, पृथ्वीचोक पुगेर सिंहदेवी चोकबाट पुनः छाताचोक हुदै धरान उपमहानगरपालिका परिसरमा पुगेको थियो । उपमहानगरको कार्यपालिका हलमा पदक विजेता खेलाडी श्रेष्ठको सम्मान कार्यक्रममा नगर प्रमुख हर्कराज राई (साम्पाङ), उपप्रमुख अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईसहित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु पनि सहभागी भएका थिए ।
कार्यक्रममा खेलाडी श्रेष्ठलाई खादा, दोसल्लासहित सम्मान गरिएको थियो । साथै, खेलाडीलाई आवश्यक पर्ने प्रोटिन र अन्य उपहारहरु पनि प्रदान गरिएको थियो । खेलाडी श्रेष्ठले भुटानमा भएको प्रतियोगिता र पदक जितेकोबारेमा जानकारी दिदै बडिबिल्डिङ खेल ज्यादै खर्चालु भएकोले खेलाडीहरुलाई गाह्रो भएको बताएका थिए । उनले खेलाडीहरुलाई प्रोत्साहन गर्न स्थानीय सरकारले पनि आर्थिकरुपमा सहयोग गर्नुपर्ने धारणा राखे ।
नगर प्रमुख साम्पाङले आगामी आर्थिक बर्षको बजेटमा बडिबिल्डिङ खेलको विकास तथा प्रर्वद्धनमा रकम विनियोजन गर्ने प्रतिवद्धता जनाएका थिए । उपप्रमुख बेघाले पदक जितेर धरान र देशकै नाम राखेको भन्दै खेलाडी श्रेष्ठलाई बधाई दिएका थिए । धरान फिटनेस क्लबका प्रोपाइटर कविर प्राधानांगले खेलाडी श्रेष्ठकोबारेमा परिचय गराएका थिए । श्रेष्ठले यसअघि वीरगञ्जमा भएको रेन्बो क्लासिकमा गोल्डमेडल, नवौं राष्ट्रिय खेलकुदमा गोल्ड मेडल, काठमाण्डौंमा भएको बुल्समेनमा पनि गोल्डमेडल जितिसकेको उनले जानकारी गराएका थिए ।
भिडियो: