धरान : भुक्तानी दिनुपर्ने योजनाको फाइलहरु अड्किएको भन्दै निर्माण व्यवसायीहरुले सबै निर्माण कार्यहरुको बाकी भुक्तानी तुरुन्त उपलब्ध गराउन माग गर्दै मेयर हर्कराज राई (साम्पाङ) लाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल निर्माण व्यवसायी संघ धरान र सुनसरी जिल्ला कार्यसमितिले सोमबार संयुक्तरुपमा मेयर साम्पाङलाई ज्ञापनपत्र बुझाएको हो । संघले तोकिएको समयमा सम्पन्न गरिएका सबै निर्माण कार्यहरूको बाकी भुक्तानी तुरुन्त उपलब्ध गराउन माग गरेको छ ।
यस्तै, निर्माण व्यवसायीहरुसङ्ग सम्बन्धित बिल प्रमाणीकरण र भुक्तानी प्रक्रिया पारदर्शी र समयवद्द बनाउन पनि व्यवसायीहरुले माग गरेका छन् । साथै, आगामी दिनमा यस्ता ढिलाई नहोस् भन्ने सुनिश्चितता गर्न पनि संघले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्र बुझ्दै मेयर साम्पाङले विवाद मिलिसकेकोले आजै सबै फाइलहरु भुक्तानी प्रक्रियामा अघि बढ्ने बताए । उनले आफुहरुको आन्तरिक केही कुरा नमिलेकोले समस्या रहेको भन्दै अब कुरा मिलिसकेको बताए ।








