धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले पत्रकार सम्मेलन गरेर मेयर हर्कराज राई (साम्पाङ)ले फाइलहरु लुकाउदा सम्पन्न भइसकेका ४५ वटा योजनाहरुको भुक्तानी यो बर्ष हुन नपाएको बताएका छन् ।
उपमेयर बेघाले आइतबार बेलुकी आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै विभिन्न ४५ वटा योजनाहरुको भुक्तानी हुन नपाएको र यसको जिम्मेवार मेयर साम्पाङ भएको पनि बताए । उनले भने,‘मेयरले फाइलहरु लुकाएकै कारणले सम्पन्न भइसकेका ४५ वटा योजनाहरुको भुक्तानी यो बर्ष हुन सकेन । फाइल लुकाएकै कारण कम्प्युटरमा इन्ट्री गर्न ढिलाई भयो, यसको जिम्मेवारी मेयरले नै लिनुपर्छ ।’
उपमेयर बेघाका अनुसार संघ र प्रदेशको बजेटबाट सम्पन्न योजनाहरुको भने भुक्तानी भएको छ । भुक्तानी रोकिएका ४५ वटा योजनाहरु भने नगरको आन्तरिक स्रोतबाट सम्पन्न भएका योजनाहरु रहेको पनि उनले बताए । ‘भुक्तानी गर्न नभ्याइएका यी योजनाहरु नगरकै आन्तरिक स्रोतबाट सम्पन्न भएको हो, तर विवाद भएको वडा १६ को तारजालीको भुक्तानी भने भएको छ,’ उपमेयर बेघाले भने,‘अब ४५ वटा योजनाहरुको भुक्तानीको दायित्व अर्को आर्थिक बर्षमा हुनसक्छ । हाम्रो बजेट नबनेकोले यो सम्भावना त छ, तर पनि उपभोक्ता समितिहरुलाई धेरै दुःख हुनेभयो ।’
उपमेयर बेघाका अनुसार कुल १ करोड ४९ हजार ६ सय रुपैया बराबरको ४५ वटा योजनाहरुको भुक्तानी रोकिएको छ । धरानको बजेट बन्न बाँकी नै रहेको कारण अर्को आर्थिक बर्षको बजेटमा यी योजनाहरुको भुक्तानी दिने गरि दायित्व लैजान सकिने सम्भावना भने जिवित नै छ । ‘मैले बजेट सिमा निर्धारण समितिको बैठकमा पनि यही कुरा राखेको छुँ, जसले फाइल लुकाएको हो, उसैले जिम्मा लिनुपर्छ,’ उपमेयर बेघाले भने ।
भिडियो: