धरान: नेपाल सरकारले बिषादी परीक्षण गर्ने प्रबन्ध शुरु गरेपछि धरान १३ स्थित कृषि थोक बजार छलेर व्यापारीहरुले तरकारी सिधै खुद्रा बजारतिर पुर्याउन थालेका छन् । 

बिषादी परीक्षण कृषि थोक बजारमा मात्र केन्द्रीत भएपछि आफ्नो लगानी डुब्न नदिन किसान र व्यापारीहरुले थोक बजारमा इन्ट्री नगरी तरकारीहरु सिधै थोक बजारमा पुर्याउन थालेका छन् । यसले कृषि थोक बजारको व्यापार र अस्तित्व नै संकटमा पर्ने भन्दै थोक व्यापारी तथा सरोकारवालाहरुले चिन्ता प्रकट गरेका छन् । यद्यपी, बिषादी परीक्षणलाई सकरात्मक रुपमा लिएर यहाँ बिषादीरहित अर्गानिक तरकारी मात्र पाइन्छ भनेर ब्राण्डिङ गर्न सके भविष्यमा थोक बजारको व्यापारले बढ्ने पनि धारणा सरोकारवालाहरुले व्यक्त गरेका छन् ।

बिषादी परीक्षण शरु भएपछि एक पटक २४ सय किलो काउली बिषादीयुक्त भेटिदा नष्ट गरिएको थियो । पछिल्लो समय गत साता १९ किलो रायोको साग पनि बिषादीयुक्त भेटिदा नष्ट गरिएको थियो । कोशी पहाडी क्षेत्रबाट आउने तरकारी कृषि थोक बजार हुदै धरानको खुद्रा र इटहरी, इनरुवा, विराटनगरको बजार जाने गर्छ ।

‘२४ सय केजी काउली नष्ट गरेपछि काउली बजारमा आउन छोड्यो, केही दिनअघि साग नष्ट गरेपछि साग पनि कम आउन थालेको छ,’ थोक बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भने,‘किसान र व्यापारीले यहाँ परीक्षण हुदा बिषादी भेटियो भने नष्ट गर्छन्, र क्षतिपूर्ति पनि पाइदैन भनेर सिधै खुद्रा बजार, इटहरी, इनरुवातिर लैजाने गर्न थाले । यो त गम्भीर कुरा हो, यसले उपभोक्ताको स्वास्थ्य र यो कृषि थोक बजारकै अस्तित्व संकटमा पर्छ ।’

थोक कारोबारलाई कृषि बजारमा केन्द्रीत गर्ने र समय एकरुपता गर्ने 

bisadi2 copy

बिषादी परीक्षणलाई व्यवस्थित गर्न बिहिबार कृषि थोक बजारमा सरोकारवालाहरुबीच आयोजित बैठकले द्रुत बिषादी विश्लेषण ईकाईलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । उपमेयर तथा इकाईका संयोजक अइन्द्रबिक्रम बेघाको अध्यक्षतामा बसेको बैठकले विगतका निर्णय कार्यान्वयन गर्दे ल्याबको लागि आवश्यक किट, रसायत तथा अन्य सामग्रीको लागि प्रदेश कृषि मन्त्रालय र संघमा अनुरोध गर्ने निर्णय गरेको छ । 

यस्तै, धरान नगर भित्रका सम्पुर्ण बजार क्षेत्रमा नमुना परीक्षण गर्ने, कृषि थोक बजारभित्र थोक कारोबारलाई केन्द्रीत गरेर ल्याब परीक्षण पछि मात्र उपभोक्ता बजार (खुद्रा)मा पठाउने पनि बैठकले निर्णय गरेको छ । साथै, बजार सञ्चालन समय धरान गनरभित्र सबै बजारलाई एकरुपता गरी बिहान ५ बजेबाट मात्र खोल्ने निर्णय पनि बैठकले गरेको छ । 

बिषादी परीक्षण भएको तरकारीलाई ब्राण्डिङ गर्न सुझाव

bisadi copy

बैठकमा व्यापारीहरुले कृषि थोक बजारमा मात्र परीक्षण केन्द्रीत गरेको भन्दै तीब्र असन्तुष्टी जनाएका थिए । उनीहरुले कृषि बजारका थोक व्यापारीले ल्याउने सामानको मात्र परीक्षण भइरहेको र अन्य व्यापारीले थोक बजारमा तरकारी नल्याइ सिधै धरानकै खुद्रा बजारमा लगिरहेको, इटहरी र इनरुवा पुर्याइरहेको भन्दै असन्तुष्टी जनाए । साथै, इटहरी, इनरुवा, विराटनगर, दमकतिरबाट आउने तरकारीमा बिषादी परीक्षण नभएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएका थिए । 

इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मीप्रसाद रेग्मीले बिषादी परीक्षण सकरात्मक भएको र यसलाई थप प्रभावकारी बनाउनुपर्ने, बिषादी परीक्षण गरेको तरकारी मात्र उपभोग गर्न उपभोक्ताहरुलाई सजग बनाउनुपर्नेतर्फ पनि ध्यान केन्द्रीत गर्न आग्रह गरेका थिए । साथै, उनले धरानको कृषि थोक बजारमा पाइने तरकारी बिषादी रहित अर्गानिक भएको भनेर ब्राण्डिङ गर्नसके भविष्यमा सबै खुद्रा व्यापारीहरु यहाँ आएर नै तरकारी किनेर लैजाने पनि उनले बताए । 

उपमेयर बेघाले थोक व्यापारलाई कृषि बजारमा केन्द्रीत गरेर यहाँबाट मात्र खुद्रा बजारमा तरकारी पुग्ने अवस्था बनाउन पहलकदमी लिने बताए । उनले यसमा सबै पक्षको सकरात्मक सहयोग हुनुपर्ने बताउदै बिषादी परीक्षण पनि अन्य बजारमा पनि गर्ने प्रतिवद्धता जनाए । बैठकमा पुर्वमेयर मनोजकुमार मेन्याङ्बो, पुर्वउपमेयर मञ्जु भण्डारी, वडाअध्यक्ष नेत्र काफ्ले, कृषि थोक बजार व्यवस्थापन समिति अध्यक्ष काजी गिरी, बजारका पुर्वअध्यक्ष पर्शुराम कटवाल, कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह, धरान उपमहानगरका प्रशासन महाशाखा प्रमुख वेदप्रसाद सापकोटा, उपभोक्ताको तर्फबाट कांग्रेस धरान सभापति श्याम पोख्रेललगायतले पनि आफ्नो धारणा राखेका थिए । 

भिडियो: