धरान: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेसबाट सुनसरी क्षेत्र नं १ मा सुजेन्द्र तामाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
लामो रस्साकस्सीका बीच कांग्रेसले तामाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । तामाङ कांग्रेसको क्षेत्र नं १ कमिटीका सभापति पनि हुन् । कांग्रेसमा उनी विगतमा शेखर कोइराला पक्षमा थिए ।
पार्टीले उम्मेद्वारको टिकट थमाएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिदै तामाङले जनताको अपेक्षा पुरा गर्ने महत्वपुर्ण अवसर र जिम्मेवारीकोरुपमा बदल्नव सबैको सामुहिक एवं इमान्दार प्रयास हुने विश्वास व्यक्त गरेका छन् ।
यसैगरि, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुनसरी क्षेत्र नं १ मा उद्धव श्रेष्ठले उम्मेद्वारको टिकट पाएको राप्रपाका नेता लक्ष्मण बस्नेतले जानकारी दिएका छन् । 'हाम्रो पार्टीबाट उद्धव श्रेष्ठ (मकै)ले टिकट पाउनुभएको छ,' उनले भने । प्राध्यापन पेशाबाट अवकाश पाएका श्रेष्ठ बौद्धिक मानिन्छन् ।
उनी यसअघि २०७९ को प्रदेशसभा निर्वाचनमा पनि सुनसरी क्षेत्र १ (१) मा राप्रपा (हलो चिह्न)बाट उम्मेदवार बनेका थिए । त्यसबेला उनी ८ हजार ३६३ मतका साथ तेस्रो भएका थिए । उक्त निर्वाचनमा एमालेका रमेशकुमार बस्नेत ११ हजार १०२ मत ल्याएर विजयी हुँदा कांग्रेसका उमेश थापा ९ हजार ७५२ मत पाएर दोस्रो भएका थिए ।







