धरान: उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पुर्वमन्त्री कुलमान घिसिङ भोली (बिहिबार) धरान आउदैछन् । 

झापा, मोरङ र सुनसरी जिल्लामा चुनावी अभियानको क्रममा घिसिङ धरान आउन लागेका हुन् । पार्टीका धरान कमिटी अध्यक्ष अमित थेवेका अनुसार भोली बिहान मोरङको उर्लाबारी, पथरी र बेलाबारीको कार्यक्रम सकेर घिसिङ दिउँसोे १ बजे धरान आइपुग्नेछन् ।

‘उहाँ धरानमा डेढ घण्टा रहने कार्यक्रम छ, १ बजे आइपुगेर ३ बजे इटहरी पुग्नुपर्नेछ,’ अध्यक्ष थेवेले भने,‘प्रदेश १ केन्द्रीत चुनावी अभियान यो पटक झापा, मोरङ र सुनसरीमा हुदैछ । अर्को पटक पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ जानुहुनेछ ।’

kulman

आज (बुधबार) उनी झापाको विभिन्न स्थानमा पुगेका थिए । उज्यालो नेपाल पार्टीका अनुसार बुधबार घिसिङले भद्रपुर, काकडभिट्टा, धुलाबारी, विर्तामोड, दुधे र दमकमा आयोजित र्याली, कोणसभा कार्यक्रममा सहभागी भएका थिए । दमकमा प्रदेश १ का सबै प्रत्यक्ष उम्मेद्वारहरुसँग बैठक पनि बसेको पार्टीले जनाएको छ । 

धरानमा घिसिङले वडा १५ श्यामचोकस्थित सम्पर्क कार्यालयको उद्घाटन गर्नेछन् भने कार्यकर्ताहरुसँग भेटघाट कार्यक्रम पनि रहेको अध्यक्ष थेवेले जानकारी दिए । ‘उक्त कार्यक्रम १५, २० मिनेटमा नै सकिन्छ, त्यसलगत्तै कोणसभाहरु हुन्छ,’ थेवेले भने,‘उहाँले बढीमा २ वटा कोणसभालाई सम्बोधन गर्नुहुनेछ । भानुचोकमा त पक्कै कोणसभा हुन्छ ।’