धरान : सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा फरार रहेका बराह बचत तथा ऋण सहकारीका अध्यक्ष शिव कुमार लामिछानेसहित २ जना पक्राउ परेका छन् । 

प्रहरीले बुधबार ४५ बर्षीया लामिछानेसहित बराह बचत तथा ऋण सहकारी संस्था धरान सुनसरीका ऋण उप समिति सदस्य, ग्राहक सेवा (कस्टमर केयर) का कर्मचारी, बराह ग्रुप १ नं. प्रदेश सचिवालका सदस्य पनि रहेकी ३३ बर्षीया अस्मिता भण्डारीलाई पनि पक्राउ गरेको हो ।

उनीहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्तरुपमा खटिएको बिषेश टोलीले सुनसरीस्थित नेपाल भारतको सिमावर्ती क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान गर्ने कार्य भई रहेको प्रहरीको भनाइ छ ।

shiwa lamichaane

बराहका १७ हजार १० जना पीडित मध्ये शंकर थापा समेत ४२४३ जनाले बराहका सञ्चालक, कर्मचारी विरुद्ध जाहेरी दिएका थिए । बराहमा कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैया आर्थिक हिनामिना तथा अपचलन गरेको अभियोगमा मुद्दा दायर भएको थियो । धरानमा बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय रहेर सहकारी संस्थासंग आवद्ध नेपालभर जम्मा ३० वटा र विदेशमा ४ वटा कम्पनि समेत स्थापना गरी सर्वसाधारणको अर्बौ रुपैया ठगी गरेको मुद्दा लागेपछि सञ्चालकहरु फरार रहेका थिए।