धरान: शनिबार(फागुन १०)बाट शुरु हुने २२ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपमा ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेश दिइने भएको छ । 

आयोजक धरान फुटबल क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै आयोजकले ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप प्रतियोगिताको खेल हेर्न प्रवेश निःशुल्क गरिने जानकारी दिएको हो । क्लबका अध्यक्ष किसोर राईका अनुसार महिलातर्फ ६५ बर्ष र पुरुषतर्फ ७० बर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई खेल हेर्न प्रवेश निःशुल्क गरिनेछ ।

निःशुल्क प्रवेश पाउन ज्येष्ठ नागरिकहरुले नागरिकता लिएर आउनुपर्नेछ । ‘नागरिकता लिएर आएपछि उहाँहरुलाई निःशुल्क प्रवेशको व्यवस्था हुन्छ । स्टेजमा नै लगेर उहाँहरुलाई नाम उद्घोष गरेर सम्मान पनि गछौं,’उनले भने,‘खेलप्रति ज्येष्ठ नागरिकहरुलाई आकर्षित गर्ने उद्देश्य हो ।’