धरान: पाहुना टोली भारतको युनाइटेड कर्साङलाई हराउदै एनओसी मनाङ मस्र्याङ्दी क्लब धरानमा जारी २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

आज धरान १६ स्थित रंगशालामा भएको पहिलो सेमीफाइनल खेलमा मनाङले कर्साङलाई २–० गोलअन्तरले हरायो । मनाङको जितमा विमल राना र दयानन्द सिंहले गोल गरे । विमलले पहिलो हाफको १९ औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए भने दयानन्दले दोस्रो हाफको इञ्जुरी समयमा गोल गर्दै मनाङको जित सुनिश्चित गरेका थिए ।

manang

खेलमा मनाङले थुप्रै गोल गर्ने अवसर खेर फाल्यो भने कर्साङले पनि अवसरहरु सदुपयोग गर्न सकेन । मनाङले शनिबार फाइनलमा भोली हुने नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । आजको पहिलो सेमीफाइनल खेलको म्यान अफ दि म्याच कर्साङका आशिष देवान घोषित भए भने वेष्ट गोल आफ दि म्याचको पुरस्कार मनाङका दयानन्द सिंहले पाए । आशिषले नगद १५ हजार पाए भने दयानन्दले ५ हजार पाए । प्रतियोगितामा भोली बिहिबार दोस्रो तथा अन्तिम सेमीफाइनल खेल पुलिस क्लब र मछिन्द्र क्लबबीच हुनेछ ।

manag-vs-uk