धरान: नेपालका चर्चित खेलाडी एवं आज फाइनल खेल्न लागेको नेपाल पुलिस क्लबको टिम क्याप्टेन जुमान राईको ससुराली घर धरान हो । उनको श्रीमति तेक्वान्दोको राष्ट्रिय खेलाडी ऋतु मादेन हुन् ।

ससुराली घर धरान भएका खेलाडी जुमानुको टिम बुढासुब्बा गोल्डकपको हरेक सँस्करणमा सहभागी टोली हो । पुलिसले १० पटक फाइनल खेलेको छ । त्यसमध्ये ५ पटक उपाधि जितेको छ भने ५ पटक उपविजेता भएको छ । तर, धरानमा विभागीय टोली पुलिसको दुःखद् पक्ष के छ भने दर्शकहरु पुलिसको समर्थन कमै गर्छन् । पुलिसको विपक्षी टोलीलाई धराने दर्शकहरुको समर्थन हुने गर्छ । यसले पुलिसको खेलमा प्रभाव पार्छ कि पार्दैन ? अझ आज पुलिस फाइनल खेल्दैछ ।

पुलिसका क्याप्टेन एवं धराने ज्वाँई जुमानु धराने दर्शकहरुले पुलिस भन्ने शब्दलाई मात्र मन नपराउने दाबी गर्छन् । धरानेहरुले आफुहरुको खेललाई मन पराउने उनको भनाई छ । ‘दर्शकलाई पुलिस शब्द मात्र मन नपर्ने हो । हाम्रो खेल मन पराउछन्,’जुमानुले भने,‘हामीले पनि खेलेर दर्शकहरुलाई हाम्रो समर्थनमा तान्ने कोसिस गछौं । दर्शकहरुको गाली नै हाम्रो लागि ताली र माया हो । यसले खासै फरक पदैन ।’