धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा भोली शनिबार नेपालको चर्चित दुई टोली नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लब आमनेसामने हुदैछन् । दुवै टोली मोफसलको चर्चित गोल्डकपको उपाधि जितेर आफ्नो प्रतिष्ठा कायम गर्न चाहन्छन् ।

पुलिस बुढासुब्बाको सबैभन्दा बढी उपाधि जित्ने क्लब मध्ये एक हो । पुलिस र थ्री स्टारले बुढासुब्बा समान ५ पटक जितेका छन् । तर, सबैभन्दा बढी फाइनल खेल्ने टोली धरानमा पुलिस हो । पाँच पटक उपाधि जितेको पुलिस पाँच पटक नै उपविजेता पनि हो । यस्तै, मनाङले भने बुढासुब्बामा तीन पटक उपाधि जितेको छ । त्यसैले धरानको मैदान दुवै टोलीलाई नौलो छैन । दुवै सशक्त टोली हो । तसर्थ, भोली शनिबारको फाइनल खेल अत्यन्तै प्रतिस्पर्धात्मक र रोचक हुने अनुमान गरिएको छ ।

पुलिस क्लबका क्याप्टेन जुमानु राईले खेल प्रतिस्पर्धात्मक हुने तर आफुहरुले जित्ने दाबी गरे । आज धरान १६ स्थित रंगशालामा आयोजित प्रि म्याच कन्फ्रेन्समा उनले मनाङ पनि वलियो टिम भएको बताए । ‘गेम फिप्टी फिप्टी हुन्छ, मनाङ पनि राम्रो टिम हो,’उनले भने,‘हामी काउन्टर अट्याक नै खेल्छौं, पाएको मौकामा गोल गर्यौं भने हामी जित्छौं ।’ पुलिसका कोच दिनेश गुरुङले पहिलो र दोस्रो खेलमा कडा विपक्षीलाई जितेर फाइनल पुगेकोले उपाधि जित्ने आत्मविश्वास वलियो भएको बताए ।

IMG_5277

मनाङका क्याप्टेन कमल श्रेष्ठ पनि उपाधि जित्ने गरि नै धरानमा खेल्न आएको बताए । पुलिस वलियो टिम भएकोले आफुहरु पनि त्यही अनुसार तयारी गरेर मैदानमा उत्रने उनले बताए । ‘पुलिस राम्रो टिम हो, तर हामी पनि उपाधि जित्ने गरि नै आएकोले राम्रो खेल्छौं,’उनले भने । मनाङका कोच फुजा टोपेले पनि खेल अत्यन्तै प्रतिस्पर्धात्मक हुने बताए । विपक्षीको खेल अनुसार फाइनलमा आफ्नो टिमको रणनीति परिवर्तन हुने उनले बताए ।

जारी प्रतियोगितामा पुलिसले पहिलो खेलमा मेची नेत्रालय काकडभिट्टा ट्रेनिङ सेन्टरलाई हराएको थियो भने सेमीफाइनलमा सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई स्तब्ध बनाउदै फाइनल पुगेको टोली हो । यस्तै, मनाङले बेलबारी फुटबल क्लबलाई पहिलो खेलमा हराएको थियो भने युनाइटेड कर्साङ भारतलाई सेमीफाइनलमा हराउदै फाइनल पुगेको टोली हो । फाइनलको विजेता टोलीले ट्रफीसहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ ।