धरान: फुटबल खेल भनेपछि हुरुक्कै हुने पुर्व ब्रिटिश गोर्खा लाहुरेहरुले एउटा क्लब खोलेका छन्, एफसि गोर्खा भेट्रान युके । करिब पाँच बर्षअघि स्थापना भएको यो क्लब फुटबल मात्र खेल्दैन, फुटबल खेलेरै समाजसेवामा सक्रिय छ ।

क्लबका सदस्यहरु विभिन्न ठाउँमा च्यारिटी कार्यक्रममार्फत सहयोग जुटाउदै धरान आइपुगेका छन् । क्लबका मेनेजर बद्रीकुमार सुनुवारका अनुसार ६ मार्चमा ताप्लेजुङ रनमा च्यारिटी रन आयोजना भएको थियो भने ९ मार्चमा इलाममा माइभ्याली भेट्रानसँग मैत्रीपुर्ण फुटबल खेल आयोजना भएको थियो । ‘भोली शनिबार हामी धरानमा च्यारिटी मैत्रीपुर्ण फुटबल खेल खेल्दैछौं, यहाँका पुर्वाञ्चल बहिरा विद्यालय र सुस्त मनस्थिति बाल कल्याण विद्यालयलाई सहयोग जुटाउने उद्देश्य हो,’उनले भने ।

शनिबार धरान १६ स्थित रंगशालामा गोर्खा भेट्रान युके र धरान भेट्रान फुटबल क्लबबीच मैत्रीपुर्ण खेल हुनेछ । गोर्खा भेट्रानका १६ जना टोली धरान आएका छन् । धरान भेट्रान फुटबल क्लबबाट धरानका मेयर तिलक राई, पुर्वराष्ट्रिय खेलाडी तथा एन्फा प्रदेश १ अध्यक्ष किसोर राई, रोमी मोक्तान, अर्जुन राई, सतिस केसीलगायत मैदानमा उत्रने छन् । ‘हामीले च्यारिटीको लागि न्युनतम २ सय रुपैयाको टिकट बिक्री गरेका छौं, त्यो भन्दा माथि जति पनि सहयोग गर्न सक्नुहुनेछ,’धरान भेट्रानका खेलाडी रोमीले भने,‘हामीले पनि ५० हजारजति संकलन हुने अपेक्षा लिएका छौं ।’

IMG_8888.psd

शनिबार मैत्रीपुर्ण च्यारिटी फुटबल खेल आयोजनाबारे जानकारी दिदै आयोजक । फोटो: विकास चाम्लिङ राई

यसअघि ताप्लेजुङ रनमा युकेबाट संकलन भएको २ लाख ५५ हजारसहित ३ लाख ५ हजार रुपैया सहयोग प्रदान गरिएको गोर्खा भेट्रान युके टिमका सदस्य लोक चेम्जोङले जानकारी दिए । इलाममा भने मैत्रीपुर्ण फुटबल खेलिएको र माइभ्याली भेट्रानलाई ड्रेस(जर्सी)सहयोग गरिएको उनले बताए । ‘युकेमा थुप्रै च्यारिटी कार्यक्रम भइरहन्छ, हामी फुटबलर भएकोले फुटबलबाट नै केही गरौं भन्ने उद्देश्यले यस्तो च्यारिटी कार्यक्रम गर्दै आएका छौं,’चेम्जोङले भने ।

बेलायतमा एक, दुई पाउण्ड गर्दै सहयोग उठाएको गोर्खा भेट्रान युके टिमका छवि लिम्बुले बताए । उनले यसअघि पनि काठमाण्डौंमा सिआरसि(चाइल्ड रेस्कु सेन्टर)लाई पनि सहयोग गरिएको जानकारी दिए । ‘माउण्टेन चाइल्डलाई पनि सहयोग गर्यौं, च्यारिटी कार्यक्रम गर्नु निक्कै गाह्रो हो । सबैको विश्वास जितेर युकेमा एक, दुई पाउण्ड संकलन गर्नुपर्छ,’उनले भने,‘जागिरबाट र परिवारबाट पनि छुटकारा पाएर कार्यक्रममा आउनुपर्छ, सजिलो छैन । हामी सबै फुटबलर हौं, र परिवारले पनि बुझेका छन् ।’