धरान : आयोजक स्वर्णिम क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब काठमाण्डौं धरानमा जारी प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप २०८३ को फाइनलमा प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा बिहिबार सम्पन्न दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा आयोजक क्लबलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको हो । पुलिसले शनिबार उपाधिको लागि अर्को विभागिय टोली एपिएफको सामना गर्ने भएको छ । एपिएफले बुधबार भएको पहिलो सेमीफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई २-० ले पराजित गर्दै फाइनमाल स्थान बनाएको थियो ।

खेलको पहिलो हाफको छैटौँ मिनेटमै मिना देउवाले गोल गर्दै पुलिस क्लबलाई अग्रता दिलाएकी थिइन् भने ३०औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै अग्रता दोब्बर बनाएकी थिइन् । यस्तै, ३४औँ मिनेटमा मिना देउवाले व्यक्तिगत दोस्रो गोल गरिन् । 

womens1

यसैगरि, दोस्रो हाफको नवौँ मिनेटमा रेखा पौडेलले व्यक्तिगत दोस्रो गोल गरिन् भने १६औँ मिनेटमा बिर्षना चौधरीले र ३२औँ मिनेटमा अनुष्का शेर्पाले गोल गर्दै पुलिसलाई ६-० को जित दिलाउदै उपाधि नजिक पुर्याए। 

खेलको प्लेयर अफ दि म्याच नेपाल पुलिस क्लबकी मिना देउवा घोषित हुदै नगद १० हजार प्राप्त गरिन् । प्रतियोगिताको उपाधिका लागि एपीएफ र नेपाल पुलिस क्लबबीच मंसिर ५ गते फाइनल भिडन्त हुने आयोजक डी-१९ क्लबले जनाएको छ ।