धरान: साइक्लिङ र दौडकी राष्ट्रिय खेलाडी इन्द्रकला नेम्बाङ(निक्की) र पुर्व ब्रिटिश गोर्खा लाहुरे गोपाल राईले साइक्लिङको नयाँ रुट खोजीको लागि भेडेटारबाट पाँचथरको रविसम्म साइकल यात्रा गरेका छन् ।

कुल पाँच दिनको यात्रामा दुवैले एक दिन आराम गरे भने ४ दिन साइकल यात्रा गरेका थिए । उनीहरुले कुल १७० किलोमिटर दुरी पार गरे भने २६ घण्टा साइकलको पाइडल चलाए । उनीहरुले आफ्नै खर्चमा ५ दिनको यात्रा पुरा गरेका हुन् । दुवैले फागुन २६ गते सोमबार भेडेटारबाट साइकल यात्रा शुरु गरेका थिए । पहिलो दिन मिक्लाजुङ गाउँपालिकाको लेखगाउँमा बास बसेका थिए ।

cycling

 बुधबारेदेखि ९ किलोमिटर उत्तरमा रहेको लेखगाउँबाट उनीहरु भोलीपल्ट रवि पुगे । ‘रवि पुगेपछि तेस्रो दिन साइक्लिङ गरेनौं, आराम गर्यौ,’साइक्लिष्ट गोपाल राईले भने,‘चौथो दिन पाँचथरबाट लेखगाउँ आएर बस्यौ, र पाँचौं दिन बुधबारे, लेटाङ, केराबारी, याङशिला हुदै धरान आइपुग्यौं ।’ शुक्रबार सफलतापुर्वक यात्रा पुरा गरेका दुवै साइकल यात्रीलाई धरान घण्टाघर परिसरमा साइक्लिङ धरान र धरान रनले स्वागत गरेको थियो ।

दुवैले साइकलमा पहिलो दिन ९ घण्टा, दोस्रो दिन ४ घण्टा, चौथो दिन ४ घण्टा र पाँचौं दिन ९ घण्टा यात्रा गरेका थिए । रवि समुन्द्र सतहबाट ८ हजार फिट उचाईमा भएको ठाउँ हो । यात्राको क्रममा पहाडको उचाई, क्रसक्रन्टी, आरोलो–उकालो हुदै तराईको पनि अनुभव भएको पुर्वब्रिटिश लाहुरेसमेत रहेका राईले बताए ।

cycling-dharan

 ‘अनुभव एकदमै रमाइलो भयो, उकालो ओरालो थियो । कतै ढुंगे बाटो, कतै रोडा थियो । एकमदै एड्भेञ्चर भयो,’उनले भने,‘एक दुई हप्ता पछि रुटको डिटेल रिपोर्ट बनाएर साइक्लिङ धरानलाई रुट दिन्छौ, भविष्यमा अरु राइडरलाई पनि यो रुटबारे जानकारी मिल्छ ।’ साइक्लिङ धरानले यो नयाँ रुटलाई भविष्यमा प्रर्वद्धन गर्ने जनाएको छ । धरान रनका अध्यक्ष रमु राईले पनि नयाँ रुटको पहिचान भएकोमा खुशी व्यक्त गर्दै साहसिक पर्यटनको विकासमा टेवा पुग्ने बताए ।