धरान: कोशी अस्पताल विराटनगरबाट रेफर भएका एक विरामी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आएका छैनन् । उनी घरमै क्वारेन्टाइनमा बस्ने भनेर गएको प्रदेश १ सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताले जानकारी दिए ।

डा.मेहताका अनुसार प्रमुख जिल्ला अधिकारी, सामाजिक विकास मन्त्रालयका सचिवसमेतले वीपी प्रतिष्ठान जान सल्लाह दिएपनि ती विरामी आफै सचेत छु, घरमै क्वारेन्टाइनमा बस्छु भनेर घर गएको बताए । ‘उहाँ शिक्षित मान्छे नै हुनुहुन्थ्यो, म आफ्नो परिवारको स्वास्थ्यप्रति सजग छुँ । घरमै क्वारेन्टाइनमा बस्छु भनेर भन्नुभयो,’डा.मेहताले भने,‘मन्त्रालयको सचिवसँग नै विरामीले त्यसो भने । केही समस्या भयो भने सम्पर्कमा आइहाल्छु भनेर घरमै गए ।’

कोशी अस्पतालका डा.लक्ष्मीनारायण यादवका अनुसार ती विरामीमा सामान्य ज्वरो र रुघाखोकी मात्र थियो । तर, उनी ७ दिन अघि मात्र साउदी अरबबाट घर आएकोले १४ दिन वीपी प्रतिष्ठानको आइसोलेसनमा बस्न रेफर गरिएको उनले बताए । ‘आत्तिनु पर्ने केही थिएन । विदेशबाट आएकोले गर्दा मात्र १४ दिन क्वारेन्टाइनमा बस्न सल्लाह दिएका हौं,’डा.यादवले भने ।

वीपी प्रतिष्ठान प्रदेशकै उच्चस्तरको अस्पताल

कोशी अस्पतालमा पनि आइसोलेसनको व्यवस्थापन प्रदेश सरकारले गरेको छ । तर, पनि त्यहाँबाट कोरोना शंकास्पद विरामीलाई धरान रेफर गरियो । धरान नै रेफर गर्नुको कारण प्रतिष्ठान सुविधा सम्पन्न तथा उच्चस्तर भएकोले गर्दा यहाँ रेफर गरिएको प्रदेश स्वास्थ्य महाशाखा प्रमुख डा.मेहताले बताए । ‘कोशी अस्पतालमा केही सामाग्रीहरु आउन बाँकी भएकोले आइसोलेशनले पुर्णता पाइसकेको छैन । वीपी प्रतिष्ठान प्रदेशकै सुविधा सम्पन्न र उच्चस्तरको भएकोले विरामी त्यहाँको आइसोलेशनमा रेफर भएको हो,’डा.मेहताले भने ।

टेकुबाट धरान आएका विरामीलाई कोरोना नभएको पुष्टि

 उपचारको क्रममा टेकु अस्पतालबाट धरान घर आएका एक व्यक्तिमा कोरोना नभएको पुष्टि भएको छ ।

वीपी प्रतिष्ठानको आइसोलेसन वार्डमा रहेका उनको स्वाब परीक्षणको रिपोर्ट नेगेटिम अर्थात कोरोना नभएको आएको प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.विकास साहले जानकारी दिए । उनका अनुसार ती विरामीलाई आज शनिबार नै अस्पतालबाट डिस्चार्ज दिइनेबारे कुराकानी भइरहेको छ । ‘स्वाब परीक्षणमा पठाएका थियौ, नेगेटिभ आएकोले आजै डिस्चार्ज दिने कुरा छ,’डा.साहले भने ।

ती विरामीलाई ज्वारो, रुघाखोकी जस्ता कुनै पनि लक्षण थिएन । तर, कोरियाबाट आएलगत्तै आफै टेकु अस्पतालमा जचाउन गएका थिए । त्यहाँ उपचारकै क्रममा उनी भागेर धरान आएपछि सनसनी मच्चिएको थियो । यहाँ पनि परिवारले उनलाई वीपी प्रतिष्ठानमा उपचारमा लगेकै रात भाग्ने प्रयास गरेका थिए । उनमा कोरोनाका लक्षण नदेखिएकोले उनमा भुकम्पको बेला जस्तै मनोवैज्ञानिक डर, त्रास भएको हुनसक्ने भन्दै मानसिक विभागका चिकित्सकहरुले परामर्श दिएका थिए । अहिले उनी सामान्य अवस्थामा फर्किसकेका छन् ।