धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट जोगिन धरान उपमहानगरपालिकाले सर्वसाधारणको आवतजावत बढी हुने एक दर्जन स्थानहरुमा हेल्थ हेस्क राखेको छ ।

उपमहानगरपालिका परिसरसहित आज धरानको विभिन्न १२ स्थानमा हेल्थ डेस्क राखिएको हो । स्वास्थ्यकर्मीसहित साबुन पानी, सेनिटाइजर र कोरोना सम्बन्धी जनचेतनामुलक पर्चासहित हेल्थ डेस्क राखिएको छ । उपमहागनर परिसरमा मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीले साबुन पानीले हात धोएर हेल्थ डेस्कको उद्घाटन गरेका थिए ।

helth-desk

उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत एवं कोरोना सम्बन्धी जनचेतना अभिवृद्धि समितिका संयोजक गणेशप्रसाद खतिवडाका अनुसार यसअघि ११ स्थानमा हेल्थ डेस्क राख्ने निर्णय भएपनि एक स्थान थपेर १२ ठाउँमा डेस्क राखिएको हो । ‘स्वास्थ्यकर्मीसहित हात धुनलाई साबुन पानी, सेनिटाइजर र पर्चाहरु राखिएको छ,’उनले भने,‘सेनिटाइजर आफै उत्पादन गरिरहेका छौं । साबुन सकिए किन्छौं, मास्क पनि आफै उत्पादन गर्ने बारे सोच्दैछौं ।’प्रचार सामग्री ५० हजार प्रति छापिएको पनि उनले बताए ।

हेल्ड डेस्क उपमहानगरपालिकासहित इलाका प्रहरी, इलाका प्रशासन, छाता चोक, भानुचोक, जिरो पोइन्ट, १५ नम्बर वडा कार्यालय, धरान ५ स्थित देउराली प्रहरी चौकी, ६ नम्बर वडास्थित स्कुल डाँडा,मंगगलबारे र रेल्वे गरी ११ स्थानमा राखिएको छ । थप मालपोत कार्यालय धरानमा पनि राखिएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन अनिवार्य हात धुने व्यवस्थासहित हेल्थ डेस्क राखिएको हो ।