विराटनगर: कोरोना भाइरस नियन्त्रणको लागि सरकारको आह्वानमा जारी लकडाउनले सर्वसाधारणको दैनिक जनजीवन असहज हुदै गएपछि मुख्यमन्त्री शेरधन राईको पहलमा सर्वपक्षीय छलफल भएको छ ।

मुख्यमन्त्री राईको आह्वानमा शुक्रबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रांगणमा सर्वपक्षीय बैठक भएको हो । मुख्यमन्त्री राईले सरोकारवाला पक्षहरुसँग आपूर्ति सहज बनाउन र श्रमिकहरुलाई राहत प्याकेज उपलब्ध गराउने बिषयमा सुझाव लिएका थिए । लकडाउनले दैनिक जनजीवन सहज बन्दै गएको छ भने दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरुको जनजीवन कष्टकर बन्दै गएको छ । बैठकले आम नागरिकहरुमा देखा परेको दैनिक उपभोग्य वस्तुको अहसजतालाई सहज बनाउन तत् स्थानीयतहहरुसँग समन्वय गरेर काम गर्ने समझदारी पनि गरेको छ ।

corona-cm

मुख्यमन्त्री राईले प्रदेश सरकारले अहिलेसम्म कोेरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको लागि गरेका प्रयास र कामहरुको बारेमा जानकारीसमेत गराएका थिए । उनले थप प्रभावकारी ढंगले अगाडि बढ्नको लागि सरोकारवालापक्षहरुको राय पनि लिए । बैठकमा राजनीतिक दलका नेता, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरु, स्थानीय तहका जनप्रतिनिधि, अस्पतालका प्रतिनिधि, उद्योगी, व्यवसायीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बैठकमा सहभागीहरुले प्रदेश सरकारले अगाडि बढाएका नीतिहरुलाई कार्यान्वयन गर्न एकजुट भएर लाग्ने धारणा राखेका थिए । बैठक एकअर्कामा दुरी कायम गरेर सम्पन्न भएको थियो ।