इटहरीः पकली क्षेत्रमा झमक्क साँझ परेको थियो । केही समय अघि नै तरकारी व्यापारीले चोकको पश्चिम भागको सडक किनार ढपक्क छोपेका थिए । ढाकी, बोरा र प्लास्टिकमा टमाटर, साग, गट्टा, फर्सिको मुन्टालगाएतका सब्जि फिजाइएको थियो ।

त्यही हुलमा थिइन्, केही परको गाउँबाट सागको मुठा बेच्न आएकी बुथ्नी थरुनी । उमेरले ६५ नाघेकी थरुनी खास उमेरभन्दा अझै पाको देखिन्थिन् । लामो बाटो हिँडेर टाउकोमा ढाकी राखेर थोरै सब्जी बेच्न छिमेकको तरकारी फार्मबाट किनेर ल्याएकी थिइन् । तरकारीबाट थोरै रकम जोहो भए नुन तेल किनेर फर्किने उनको धोको थियो । तर, एक हुल प्रहरी तरकारी खोस्न आइपुगेपछि उनको धोको पुरा भएन ।

कोरोना त्रासले गर्दा धेरै मान्छेको भिडभाड गर्न सरकारले प्रतिबन्ध लगाएको छ । अझै यस्ता हाट बजार त झनै जोखिमपुुर्ण हुन्छन् । तर, तल्लो वर्गका यस्ता व्यक्ति प्रत्यक्ष मारमा छन् । सक्नेले सटर भाडामा लिएर महँगोमा तरकारी बेच्ने गरेका छन् । तर, थरुनी जस्ता सडक किनारामा बसेर तरकारी बेच्नेलाई हातमुख जोर्न गाह्रो परेको छ । ‘घरमा अलिकति चामल छ, नुन र तेल किनौला भनेकी थिएँ,’आफ्नो मातृभाषामै उनले भनिन्,‘अब साहुको पैसा पो कसरी तिर्नु ?’

tarkarie

उनीसँगै थिइन् छिमेकी राधि चौधरी । उनले प्लास्टिकमा ओछ्याएको तरकारी सोरसार पारिएको थियो । एउटा ढाकी प्रहरीले उठाएर भ्यानमा हाल्यो । उनलाई ढाकी जोगाउँ कि बाँकी तरकारी भनेर हम्मेहम्मे परेको थियो । ‘ढाकी लिन चौकी बोलायो, अबदेखि तरकारी नबेच्नु भनेको छ,’चौधरीले गुनासो गरिन् । उनले ७ जनाको परिवार पाल्नुछ । श्रीमान जन गर्न जान्थे, र मुस्किलले १ हजार कमाएर ल्याउँथे । अहिले उनको भरमा परिवार पाल्नुुपर्ने बाध्यता छ । अब कसरी परिवार पाल्ने उनि निराश छिन् ।

इटहरी क्षेत्रका विभिन्न चौकमा दिनहुुँ यस्ता हाट लाग्छन् । बजारमा तरकारी उच्च माग छ भने गाउँको तरकारी बिक्री हुन सकेको छैन । गाउँमा पुुगेर केही व्यापारीले यसरी तरकारी ल्याएर बेच्ने गरे पनि भिडभाड हुने भयले प्रहरीले रोक लगाउने गरेको छ । तरकारी ल्याएर सडकमा राखेर बेच्ने तल्लो वर्गका व्यक्तिलाई परिवार पाल्न धौधौ छ । उनीहरुले आफुलाई तरकारी बेच्न सहज बनाइदिए बजारको माग र बारीको उत्पादनले मेल खाने बताउँछन् । ‘धेरैका बारीमा तरकारी कुहिरहेको छ,’ पकली चौकमा सटर राखेर तरकारी बेचिरहेका तन्नुलाल चौधरी भन्छन्,‘ग्राहक आएर तरकारी खोजेर हैरान पार्छन, यता प्रहरीले आएर बेच्न दिदैन ।’ उनका अनुसार स्थानीय प्रशासन र प्रतिनिधिले तरकारी बेच्ने व्यापारीलाई सहज बनाइ दिए गाउँका किसानको पनि भलो हुने बताउँछन् । उनी भन्छन्,‘बारीमा तरकारी कुहियो, बेचौँ भने प्रहरीले दिदैन ।’tarkari-itri