धरान: कोरोना भाइरस(कोभिड १९) को रोकथाम, उपचार तथा संक्रमित व्यक्तिलाई उचित व्यवस्थापनमा धरानमा गम्भीर लापरवाही भएको पाइएको छ ।

हिजो धरानमा संक्रमित पुष्टि भएको धरान १३ की एक महिलालाई राती ८ बजे नै वीपी प्रतिष्ठानको आइसोलेसनमा वार्डमा लैजाने भनिएको थियो । तर, १२ घण्टा बितिसक्दा पनि आज बिहान ८ बजेसम्म पनि उनलाई लिन एम्बुलेन्स पुगेको छैन । वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले आफुहरु राती ११ बजेसम्म पर्खिदा पनि एम्बुलेन्स लिन नआएको बताए । उनका अनुसार मेयर तिलक राई आफै शिवधारा पुगेर वीपीमा राख्ने व्यवस्था गरेको र राती ८ बजे एम्बुलेन्स लिन आउने भनेका थिए । त्यसैले उनी र अमर हाटका प्रहरी विटका असई पर्खेर बसेका थिए । ‘मेयर साब आफैले धरानमा राख्ने कुरा भएको छ, चिन्ता नगर्नुस्, ८ बजे एम्बुलेन्स आउछ भन्नुभएको थियो,’अध्यक्ष काफ्लेले भने,‘हामी राती ११ बजेसम्म पर्खियौ, एम्बुलेन्स नआएपछि घर गयौं ।’

वडाअध्यक्ष काफ्लेले राती मेयर, उपमेयरलाई फोन गरेपनि नउठेको बताए । प्रतिष्ठानको विरामी व्यवस्थापनको फोकल पर्सन डा.इन्द्र लिम्बुलाई सम्पर्क गर्दा आफुहरु उपचार गर्न तयार छौं तर एम्बुलेन्स छैन भन्ने जवाफ दिएको पनि उनले बताए । ‘यत्रो महामारीमा एउटा एम्बुलेन्स पनि व्यवस्था गर्न नसक्ने कस्तो व्यवस्था हो ?’अध्यक्ष काफ्लेले भने ।

सम्भवतः पुर्वमै सबैभन्दा धेरै एम्बुलेन्स चल्ने सहर हो धरान । यहाँ ४ दर्जन हाराहारीमा एम्बुलेन्सहरु छन् । नेपालकै प्रतिष्ठित वीपी प्रतिष्ठान भएकोले धरानमा एम्बुलेन्सको व्यापार छ । तर, अहिले कोरोना महामारीको बेला भने सेवा दिने एम्बुलेन्स एउटा पनि नपाउनु विडम्वनापुर्ण छ । यसअघि, इटहरीका संक्रमित युवालाई पनि कोरोना अस्पताल विराटनगर लैजान एम्बुलेन्सहरु नमानेपछि वीपी प्रतिष्ठान आफैले व्यवस्था गरेर पठाउनुपरेको थियो ।

धरानमा कोरोना महामारीकै कारण ४ वटा व्यवस्था गरिएको थियो । तर, ती एम्बुलेन्सहरुले कोरोना संक्रमण पुष्टि भएको व्यक्तिलाई बोक्न मानेको छैन । यसअघि रेडक्रसको एउटा एम्बुलेन्सले भने ३ जना संक्रमितलाई विराटनगर पुर्याएको थियो । उक्त एम्बुलेन्सका चालक क्वारेन्टाइनमा छन् ।